अदुवाको मूल्य अहिलेसम्म कै उच्च

बुधबार, अशोज १, २०७६



खोटाङ। कृषकहरूले खेतीपाती गर्न छाडेपछि यस वर्ष अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।  विगतका वर्षहरुमा प्रतिकेजी रु. २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु. २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिबार र बुधबार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड नै चल्ने गरेको छ । अदुवा मसलाका रुपमा प्रयोग गरिन्छ ।

विकसित शहरमा अदुवाबाट केण्डी, सुठो, जुसलगायत विभिन्न परिकार बनाइए पनि यहाँ प्रविधिको अभावमा मसलाका रूपमा मात्रै प्रयोग गरिन्छ ।  आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा अदुवालाई मसलाका साथै पितृकार्यमा समेत प्रयोग गर्ने गरिएको छ ।

कृषकका अनुसार दुई वर्षअघि उद्योग वाणिज्य सङ्घले खरीद नगर्दा एक कृषकको कम्तीमा पनि चार/पाँच क्विन्टल अदुवा कुहिएर खेर गएको थियो । सो समयमा वाणिज्य सङ्घले अदुवा प्रशोधन गरेर व्यावसायिक रुप दिन सङ्ग्राम राईको अध्यक्षतामा अदुवा व्यवसायी सङ्घसमेत गठन गरेको थियो ।

जिल्लाका अदुवा उत्पादक कृषकलाई समेटेर व्यवसायी सङ्घ गठन गरेपछि उत्साहित कृषक उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका थिए । जिल्लामै प्रशोधन केन्द्र खोल्ने हल्ला सुनेपछि विगतभन्दा बढाएर खेती गरेका कृषक उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका हुन् ।

यसअघि आफूले उत्पादन गरेको अदुवा रु. १० मा पनि बिक्री नभएपछि खाडल खनेर पुरेको दिक्तेल–२ सोल्माका कृषक गङ्गाबहादुर विश्वकर्माले बताए ।

दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म सबै स्थानीय तहका कृषकले अदुवाखेती गर्दै आएका थिए ।  उत्पादन गरेको अदुवा बिक्रीका लागि सम्बन्धित निकायले कुनै चासो नदिएपछि खेती गर्न छाडेको कृषकहरुले बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata