लिङ्गीय विभेद

शुक्रबार, माघ ३, २०७६



गर्भमै तस्बिर खिचेर अझै लिङ्ग छुट्ट्याउने
छोरी मारेर पुनः हेर छोरा नै गर्भमा भराउने

घरधन्दाको काम छुटाएर छोरालाई मताउने
घरधन्दामा छिराएर छोरीको अवसर चुँडाउने

सम्बोधनमा इकार जोड्ने हेपाहा प्रवृत्ति हो ,
छोरीको मान दोस्रो बनाउने घटिया समाज हो

छोरीको छैठी घटाएर छोराकोमा धूम मचाउने
न्वारानमा एघारौँ दिन छोराको लागि पुर्‍याउने

छोरीको पास्नी पाँच गरी महिनामा नै हराउने
छोराको छ महिनामा भन्दै पुरूषार्थी बनाउने

छोरीलाई चुडाकर्म र उपनयनमा निषेध गरी
कर्म, वंश र अंशमा सदासर्वदा अझै हटाउने

छोरी र बुहारी जोडेर जन्मघरको हक खोस्ने
वंशावली आदिमा छोरीको स्थान मान घटाउने

पूजापाठ, निम्तोको सूचिमा छोरी अझै नपर्ने भई
अगाडि सुश्री र श्रीमती नलेखी अझै धीत नमर्ने भो

रजस्वला अछुत मान्दै छाउ बनाउने पितृसत्ता हो
छोराको वीर्य स्खलन पुरूषत्व ठान्ने संस्कृति भो

सन्तान नजन्माए महिलालाई सौता हाल्ने पुरुष हो
वीर्यका लागि जार नखोज्ने त्यो मूर्ख महिला पो भयो

यत्रतत्र रूप र रङ्गको चर्चा महिलाको नै चलाउने
पुरुष निहत्था र पागल भए पनि पुरुषार्थ कहलाउने

सतित्व महिलाको हरिने, अझै पुरुषको सुवासमा पर्ने
महिला- पिता, पति र पुत्रको अधीनमा अझै रहन पर्ने

अविवाहित छोरीको कर्म, धर्म जोडेर सर्वदा हुर्मत लिने
क्रिया, कर्मको धर्म अनि सधैँ पुरुषले लिने

– सीता ओझा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments