प्रधानमन्त्री ओलीद्वारा गौरापर्वको शुभकामना

शुक्रबार, भदौ ६, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता हाम्रो देशका अमूल्य नीधि भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, भेषभूषा, रितिरिवाज र संस्कारले विविधताका बीच एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएको उल्लेख गरेका छन् ।  “हाम्रा चाडपर्व जीवन्त अन्तर–सांस्कृतिक अन्र्तघुलनका अनुपम उदाहरण हुन्,” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “सद्भाव र एकताको प्रवद्र्धन गर्ने हाम्रा अनेकौं पर्व र साँस्कृतिक अवसरहरु मध्येको एक गौरा पर्वले समस्त नेपाली दिदीवहिनी दाजुभाइहरु बीचको आपसी सद्भावलाई अझ मजवूत बनाउने विश्वास गर्दछु ।”

खासगरी कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा मनाइने विशेष हर्ष र उल्लासका साथ मनाइने गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्वको रुपमा परिचित रहेको प्रधानमन्त्रीओलीको सन्देशमा उल्लेख गरेका छन् ।

गौरा पर्व:

गौरा सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो । गौरा पर्व भाद्र कृष्ण को षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ ।

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ।

बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ।

गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata