राष्ट्रियसभाको निर्वाचन आज, गण्डकीमा दुई पदको लागि मतदान हुने

बिहिबार, माघ ९, २०७६



कास्की । गण्डकीप्रदेशबाट राष्ट्रियसभाका दुई पदमा आज(बिहिबार) निर्वाचन हुँदैछ । यस (गण्डकी) प्रदेशमा राष्ट्रियसभा सदस्यमा दुई महिला र अन्य पदको लागि निर्वाचन हुँदैछ ।

यस प्रदेशमा २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी भएका सदस्य सुरेन्द्रराज पाण्डे र विन्दादेवी रानाको २ वर्षे पदावधि सकिन लागेको हो । पहिलो एकतिहाईको पदावधि दुई वर्षको हुने संवैधानिक व्यवस्था बमोजिम उनीहरुको भागमा दुईवर्षे कार्यकालको गोलाप्रथा परेको थियो ।

रिक्त पदको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशन गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइसकेको छ । अहिलेको चुनावमा विगतको जस्तो एकल संक्रमणीय मत प्रणाली लागु हुँदैन । यसकारण बहुमतीय आधारमा बढि मतभार ल्याउने उम्मेदवार नै विजयी बन्ने निश्चित छ ।

राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन् । तर, उनीहरुको मतभार भने फरक हुन्छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ तोकिएको छ ।

यसका आधारमा गण्डकीमा ६० प्रदेशसभा सदस्यको दुई हजार ८८० र ८५ स्थानीय तहका १७० जनप्रतिनिधीको मतभार तीनहजार ६० सहित कुल मतभार पाँच हजार ९४० रहेको छ ।

पाँच हजार ९४० मतभारमा बढि ल्याउने दुई उम्मेदवार विजयी बन्नेछन् । यसपटक प्रदेशगत रुपमा प्रत्येक क्लष्टरबाट एक/एक जनामात्रै चुनिने भएकाले बहुमत ल्याउने व्यक्तिले चुनाव जित्नेछन् ।

बहुमतीय प्रक्रियाबाट निर्वाचित हुने भएपछि यहाँ तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकिकरण पश्चात देशको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारको जीत सुनिश्चित जस्तै छ ।

प्रदेशसभामा नेकपाको एकल दुइतिहाई बहुमत छ भने, स्थानीय तहमा पनि नेकपा नै अग्रस्थानमा छ ।

यस प्रदेशमा एक महानगर २६ नगरपालिका र ५८ गाउँपालिका सहित ८५ स्थानीय तह रहेका छन् । स्थानीय तहको मतपरिणाम अनुसार नेकपा (एमाले+माओवादी केन्द्र) ले प्रमुख /अध्यक्षमा (३४+५=३९) तथा उपप्रमुख/उपाध्यक्षमा (३६+७=४३) स्थानमा विजयी बनेको थियो ।

त्यस्तै, नेपाली कांग्रेस प्रमुख÷अध्यक्षमा ४४ स्थान तथा उपप्रमुख/उपाध्यक्षमा ३७ स्थानमा विजयी बनेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments