धमाधम किन मर्दैछन् गैडा ?

बुधबार, बैशाख १९, २०७५



काठमाडौं ।  कसिंगे गैंडाको चोरीसिकार झन्डै शून्यमा झरे पनि चितवन निकुञ्जमा पछिल्ला केही वर्षयता गैंडाको बढ्दाे प्राकृतिक मृत्यु सरकार र विशेषज्ञका लागि चुनौती बनेको छ । अघिल्लो आर्थिक वर्षमा प्राकृतिक कारणले मात्र २५ वटा गैंडा मरेपछि सरकारले कारण खोज्न थालेको हो ।

निकुञ्जको मुख्य व्यवस्थापक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडाको प्राकृतिक मृत्यु बढ्नुको कारण अध्ययन गर्न केही समयअघि विशेषज्ञसमेत सम्मिलित एक टोली चितवन निकुञ्जमा परिचालन गरेको थियो। टोलीले आव २०७३/७४ मा २५ गैंडा प्राकृतिक कारणले मरेको र त्यो क्रम अझै बढ्न सक्ने भन्दै सतर्क हुनुपर्ने सुझावसहितको प्रारम्भिक प्रतिवेदन विभागका महानिर्देशक मनबहादुर खडकासमक्ष पेश गरेको छ। टोलीमा विभागका इकोलोजिष्ट लक्ष्मणप्रसाद पौडेल र चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालसहित विज्ञहरु नरेस सुवेदी, कञ्चन थापा, भगवान दाहाल, कमल गैरेलगायत थिए।

‘१० वर्षे द्वन्द्वका क्रममा सिकारीले मार्ने भन्दा पनि बढी प्राकृतिक कारणले गैंडा मर्ने गरेको पाइयो,’ टोलीमा रहेका विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलले भने, ‘निकुञ्जभित्रै पनि पूर्वीक्षेत्रका गैंडा कसराबाट पश्चिमतिर सरेको देखियो।’ झण्डै ७ वर्ष यता चोरी सिकारबाट चितवन निकुञ्जमा गैंडाको सिकार नगन्य भएको अधिकारीहरुले गौरबका साथ बताउने गरे पनि अन्य कारणले मर्ने क्रम बढेकोप्रति खासै ध्यान दिने गरिएको थिएन। चितवनमा एकसिंगे गंैडा पर्यटकका मुख्य आकर्षण हुन्।

कान्तिपुर दैनिकका अनुसार इकोलोजिष्ट पौडेलका अनुसार गत आर्थिक वर्षमा मरेका २५ गैंडामध्ये ११ वटा आपसमा जुधेर मरेका हुन्। मरेकामध्ये अधिकांश बयस्क गैंडा हुन्। अन्यमा केही खाडलमा फसेर, बुढो भएर र केही बिरामी भएरसमेत मरेका छन्। प्रतिवेदनअनुसार १० वर्षे द्वन्द्व उत्कर्ष पुगेको बेला आर्थिक वर्ष २०६०/६१ मा पनि जम्मा २४ गैंडा मरेका थिए। त्यसमध्ये धेरै गैंडा सिकारीले मारेका हुन्। त्यस अघि २०५७/५८ मा भने सिकारीले ३७ वटासम्म गैंडा मारेका थिए।

आर्थिक वर्ष २०६१/६२ मा पनि २५ वटा गैंडा मरेका थिए। त्यसमा धेरै सिकारीले मारिएको अधिकारीहरुको भनाई छ। चोरी सिकार रोकिएपछिको आर्थिक वर्ष २०७३/७४ मा पनि २५ गैंडा मरेपछि विभागले अध्ययनमा चासो देखाएको हो। आर्थिक वर्ष ०६२/६३ मा १७, ०६३/६४ मा १५, ०६४/६५ मा १३, ०६५/६६ मा १७, ०६६/६७ मा २४, ०६७/६८ मा १६, ०६८/६९ मा १३, ०६९/७० मा १०, ०७०/७१ मा ११, ०७१/७२ मा ११ र ०७२/७३ मा १४ गैंडा मरेका थिए।

विज्ञसहितको टोलीले जुधेर गैंडा मर्नुलाई पनि असामान्य मानेका छन्। ‘२५ मा ११ वटा जुधेर मर्नुको कारणसमेत खोज्नु जरुरी छ,’ पौडेलले भने। २०७१ को गणना अनुसार चितवन निकुञ्जमा ६ सयको हाराहारीमा गैंडा छन्। विज्ञहरुको अध्ययनले धेरै गैंडा कसराबाट पश्चिमतिरको जंगलतिर सरेको निष्कर्ष निकालेका छन्। कसरा पूर्वी क्षेत्रमा खस्कदो घाँसे मैदान र पानीका घोल कम भएकाले सुरक्षित क्षेत्रतिर सरेको हुनसक्ने उनीहरुको बुझाई छ।

‘पूर्वी क्षेत्र र पश्चिम क्षेत्रतिर सामान्यतया आधा आधा गैंडा हुनुपर्ने हो,’ पौडेलले भने, ‘यसले पूर्वीक्षेत्रको वासस्थानमा ह्रास आएको संकेत गर्छ।’ चितवन निकुञ्जमा ‘माइकेनिया म्याकारान्था’ नामको मिचाहा झार गैंडाको वासस्थान र घाँसे मैदान क्षय गराउने मुख्य कारकका रुपमा देखा परेको छ। उक्त मिचाहा झारले गैंडाले खाने पोसिलो घाँस छोपिदिने र पानीका घोलसमेत छोपिदिने गर्छ।

विभागका पूर्व महानिर्देशक कृष्णप्रसाद आचार्य गैंडाको प्राकृतिक मृत्युबारे गहन अध्ययन आवश्यक ठान्छन्। ‘संख्या बृद्धिसंगै विविधखाले समस्या उत्पन्न भएको छ,’ उनले कान्तिपुरसित भने, ‘कहाँ कसरी मरेका छन्, कुन उमेरका मरेका छन्, एउटा एउटाको अध्ययन जरुरी छ।’ गैंडाको दिगो संरक्षण र तीनको संख्या विस्तारका लागि वासस्थान व्यवस्थापनमा ठूलो खर्च गर्नुपर्ने उनको जोड छ। ‘निकुञ्जको कोर क्षेत्रमा पानीका घोल, घाँसे मैदान व्यवस्थापन र तीनको स्वास्थ्य अवस्थामा विशेष ख्याल गर्नुपर्छ,’ आचार्यले भने, ‘अब परम्परागत शैलीको वन्यजन्तु व्यवस्थापन प्रणाली बदल्नुपर्छ।’

केही वर्ष यता सरकारले गैंडाको चोरी सिकार नियन्त्रणमा मात्र बढ्ता ध्यान दिएको देखिन्छ। संरक्षण सहयोगी संस्थाले पनि वासस्थान व्यवस्थापनमा भन्दा संरक्षणमुखी अभियानमा बढ्ता ध्यान दिएको देखिन्छ।

142 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank