गगन थापा भन्छन्, ‘सरकार फासिष्ट हुन थाल्यो’

सोमवार, अशोज १३, २०७६



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले शनिबार ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणलाई सरकार फासिस्ट हुन थालेको संकेत देखिएको बताएका छन् ।

विजया दशमीको अवसरमा आइतबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र ४ मा भएका विकास निर्माणका विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको अन्तक्र्रियालाई सम्बोधन गर्दै थापाले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको हस्क्षेपविरुद्ध आफू लडिरहने बताए ।

‘अधिनायकवाद पहिलेको जस्तो बाजा बजाएर आाउँदैन । अहिलेका तानाशाहहरू गोलीगट्ठा लिएर बाजा बजाएर आउँदैनन्’, थापाले भने, ‘तानाशाहरू अहिले चुनावबाट आउँछन् । सरकार बनाउँछन् । कानुन बनाउँछन् र एकपछि अर्को स्वतन्त्रा खोस्दै जान्छन् ।’

सरकारले बोल्ने स्वतन्त्रता, सम्पत्तिको हक, सांस्कृतिक हक खोस्दै गुठीको हक चलाउनेदेखि लिएर त्यसको विरोध गर्नेलाई चितवनमा गरेजस्तै राजवादी र प्रतिगमनकारी बिल्ला भिराउने योजनामा सरकार लागेको थापाले दाबी गरे ।

उनले भने, ‘चितवनको घटनामा व्यक्ति को हो ? कस्तो हो, असल हो वा खराब हो ? सहमत वा असहमत जे भए पनि छाड्दिनुस् तर एउटा नेपाली नागरिकले नेपालको माटोमा उभिएर आफ्नो विचार राख्दै गर्दा सरकारद्वारा संरक्षित, सरकारकै निर्देशन र आव्हानमा दिनदहाडै उसको ज्यान लिने गरी जाइलाग्छन् भने योभन्दा विडम्बना अरु हुन सक्दैन ।’

उनले एउटा नागरिकमाथि शारीरिक रूपमा आक्रमण गरेको घटनाका विषयमा पार्टीका केही मान्छेले एकपछि अर्को विज्ञप्ति निकाल्दै ‘चितवनमा जे भयो ठीक भयो’ भन्ने दृष्टिकोणले सरकार कहाँ छ भन्ने बुझिएको बताए ।

उनले राजा र राणासँग स्वतन्त्रताका लागि लडेको नेपाली कांग्रेसको पुस्ताले अब त्यो स्वतन्त्रता कानुन बनाएर सरकारमा बसेर खोसिँदै गर्दा चुप लागेर नबस्ने चेतावनी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata