ट्रम्पको सम्बोधनसँगै ‘अमेरिका-इरान तनाव’ बन्यो थप रहस्यमयी..

बिहिबार, पुस २४, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रामणबाट मानवीय क्षति नभएको दाबी गरेका छन् । उनले इरानले इराकमा रहेका अमेरिकी सैनिक बेसक्याम्पलाई लक्षित गरी गरेको ब्यालिस्टिक क्षेप्यास्त्र हमलाबाट कुनै मानवीय क्षति नभएको बताएका हुन् ।

इरानले हमला गरेको एक दिनपछि ह्वाइट हाउसबाट सम्बोधन गर्दै गएराति राष्ट्रपति ट्रम्पले इरानी हमलाबाट निकै कम मात्र भौतिक क्षति भएको बताएका थिए । टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको ट्रम्पको सम्बोधनमा उनले अमेरिकी बेसक्याम्पलाई लक्षित गरी गरेको १५ वटा मिसाइल हमलाबाट इरान कमजोर रहेको देखिएको र यो सबैका लागि खुुसीको कुरा भएको दाबी समेत गरे ।

हिजो मात्र इरानको रक्षा मन्त्रालयले उक्त हमला  आफ्ना उच्च सैनिक अधिकारी कासिम सुलेमानीको हत्याको बदला लिनका लागि  गरिएको र सो हमलामा ८० जना मारिएको दाबी गरेको थियो । उनले क्षेप्यास्त्र आक्रमण अमेरिकाको अनुहारमा झापड भएको बताएको थिए ।

ट्रम्पले इरानले गरेको दाबीको खण्डन गरेसँगै  मध्यपूर्वको अवस्था थप रहस्मय बनेको जानकारहरू बताईरहेका छन् ।  राष्ट्रपति ट्रम्पको भिडियो सन्देश अनुसार इरानले गरेको आक्रमण अमेरिकालाई क्षति नगराउनेगरि थियो कि यो संयोग मात्रै हो भन्ने बारे पनि संसारभर  अहिले चर्चा परिचर्चा भइरहेका छन् ।

मध्यपूर्वको शक्ति राष्ट्र इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनईले मध्य पूर्वमा अमेरिकाको उपस्थिति अन्त्य हुनु पर्ने बताइरहेका छन् भने  राष्ट्रपति ट्रम्प आफू राष्ट्रपति हुन्जेलसम्म इरान परमाणु शक्ति सम्पन्न मुलुक हुन नदिने उद्घोष गर्दै आइरहेका छन् ।

उनले बेलायत, फ्रान्स, जर्मनी, रुस र चीनलाई सन् २०१५ मा इरानसँग भएको परमाणु सम्झौताबाट अलग हुन आग्रह समेत गरेका छन् ।  उनले गएराति करिब दश मिनेटको सम्बोधन गरेका थिए ।

यसअघि ट्रम्पले इरानले कुनै प्रकारको हमला गरे इरानका ५२ वटा स्थानलाई निशाना बनाउने बताएपछि बिहीबारको घोषणामा आक्रमणको कुनै कुरा बताएनन् । अमेरिकाले सुलेमानीका हत्या गरेको विषयमा अमेरिकाभित्रै मतभेद रहेको छ ।

डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता, पूर्व उपराष्ट्रपति तथा आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने दौडमा रहेका जोए बिडेनले ट्रम्पले मध्यपूर्वमा बेकारको तनाव निम्त्याएको आरोप लगाएका छन् ।

राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा तत्कालै इरानमाथि नयाँ आर्थिक प्रतिबन्ध लगाउने बताए । व्यवहार परिवर्तन नभएसम्म सो प्रतिबन्ध जारी रहने उनको भनाई थियो ।

गत शुक्रबार इरानको सैन्य दस्ता कुड्स फोर्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा रहेको विमानस्थलबाट बाहिरिने क्रममा ट्रम्पको आदेशमा भएको हवाई आक्रमणमा परि मृत्यु भएको थियो । उक्त राजनीतक हत्यासँगै मध्यपूर्वमा तनावको अवस्था सिर्जित भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments