मित्रता !

बुधबार, असार २५, २०७६



लघु कथा – मित्रता
==========

पत्नि र छोराछोरी सँगै  बसेर टिभी हेर्दै गरेको रविनले हत्तारिदै, “हेलो रमेश ! तिमी कता हो ? बेपत्तैसँग हरायौ त ! ” भन्यो, “हैन यार, कामले फुर्सदै नभएर हो । फुर्सद नभएकोले म पनि दिक्क छु यार ।”  फोनमै बोल्न पनि झिँझो मान्दै रमेशले भन्यो ।

रमेश थोक तथा खुद्रा व्यापारी, अघिल्लो पटकको  अनुगमन टोलीले समय वितेका गुणस्तरहीन  सामान बेचेको भनेर पसलमा सिलबन्दी नै गरिदिएकोले कारवाहीमा परेको थियो ।

रमेश, मोबाइलमा रविनको नम्बर सहित बजेको घण्टीले झसङ्गै भयो ।

रविनले रमेशको लापर्वाही गर्ने  बानी  सुधार्न  पटक पटक  एक्लै राखेर  सम्झाएको थियो ।

पसलमै गएको बेला गुणस्तरहीन समान दिदा ग्राहकले र्याख र्याख परेको  देखेको रविनले  सयौं  लगाएर जोगाएको पनि सम्झियो ।

यो पटक यस्तो विपत पर्दा पनि रमेशले रविनलाई नसम्झे पछि कुरा बुझ्न जानेरै रविनले कल गरेको थियो  ।
तर त्यस्तो हितौषी, बाल सखा रमेशले त्यति ठूलो विपतका बारेमा च्वास पनि कुरा निकालेन ।

रविन छक्क पर्यो । ‘गाँस छोड्नु साथ नछोड्नु’ भनेर पोहोर साल रमेशका  बाले भनेको कुरा सम्झ्यो ।

बाको कुरा सहि  जस्तो लाग्यो ।

मनमा औडाहा  छुट्यो ।

छट्पटी भयो ।

रमेशकी पत्नि र बालबच्चा सम्झियो । रविले सँगै भएका आफ्ना नानीहरू र श्रीमती  एकोहोरो हेरिरह्यो ।
बाबुले क्यार क्यार्ती हेरेको देखेर छोराछोरी डराए र अलि पर सरे ।

रमेशको डेराको बाँस, जवान हुन लागेकी छोरी, सधै सिङ्गै कोठामा एक्कै सुत्नु पर्ने छोरो ! कसरी ? कता कता बसेका होलान् ? दिक्क मानेर खुइय गर्यो ।

तीसौं वर्षदेखिको मित्रता, अनेकौं पटक आमाले एउटै थालमा भात मुछेर खुवाएको, मोहीको गिलासबाट एक सुरूप मलाई अर्को सुरूप उसलाई पियाएको  साथी आज संकटमा परेको थाहा पाएर आफैंले फोन गर्दा पनि कुरा चपाउछ ।

यस्तो गरेछि घरमा कसरी जानु ? फेरि  नभएको आरोप लगाए भने के गर्ने ? ‘आफू ताक्छ मुडो बन्चरो ताक्छ घुँडो’ भन्या जस्तै  हुन्न भन्ने पनि त छैन नि !

मनमनै कुरा उर्लेर बाढी नै आयो । लामो सास तान्दै अम्खोराको पानी रित्यायो ।

‘समस्या कहिल्यै नभन्ने साथी कहाँ, आफैं थाहा पाएर जाने कुरा राम्रो पनि होइन ।’ भन्दै आँ जान्न भो भन्दै सोफा मै रविन पल्टियो ।

छट्पटीदै फेरि छोरीसँग  पानी माग्यो ।

पानी पिउदै थियो, पानी नै अड्कियो ।

श्रीमतीले उठेर ” के भो हहजुरलाई? एक्कैछिनमा ” भन्दै ढाडमा बिस्तारै चलाइन् ।

‘मित्रता भनेको त हिमाल जस्तो कञ्चन, सागर जस्तो विशाल, भावनात्मक गहिराइमा  चुर्लुम्म डुबेको गंगा जस्तै पवित्र र  निराकार हुनु पर्ने हो  तर देखिएन’ भन्दै जुरूक्कै उठ्यो ।

रविनको व्यवहारले घरका सबै आतिए तर के भएको भनेर सोध्न सकेनन् ।

बाथरूम पस्यो र मज्जैले रोयो । मुख पखालेर बाहिर निस्कियो ।

‘यसो गर्नुको पछाडी कि रमेशले मित्रताको महत्व नबुझेको हुनुपर्छ नत्र आफुलाई साथी नमानेको अथवा नगनेको नै हुनुपर्छ ।’ भन्ने लागेर फेरि अम्खोराको पानी खायो ।

रमेशले  साथीत्व नस्विकारेको किन होला ? भनेर रविन धेरैबेर घोत्लिइ रहयो ।

टाउको उठाउदा त रविन पसिनै पसिनाले भिजेको देखिन्थ्यो ।

टाउको उठाएर पसिना पुछ्ने बित्तिकै जुरूकै उठ्यो र घरको पेटि छेउमा राखेको मोटर साइकल पुछ्यो ।

कसैसँग नबोलि मोटरसाइकल स्टाट गर्यो र निकै बेगले हुइक्यायो ।

सँगै बसेकी रविनकी पत्नि रिना पतिको त्यो व्यवहारले  अचम्मै  भइन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank