‘कसले दिन्छ फ्रि भिसा ?’ : यस्तो छ ज्ञानबहादुरको कथा

सोमवार, चैत्र १९, २०७४

काठमाडौं  । ज्ञानबहादुरले ‘फ्रि भिसा, फ्रि टिकट’ को कुरा निकाले, १० हजार मात्र खर्च हुन्छ भन्दा म्यानपावरले भन्यो, ‘जुन म्यानपावरले १० हजारमा उडाउँछ, त्यसैबाट जानू’

सरकारले खाडी मुलुक र मलेसिया नेपाली कामदार पठाउँदा भिसा शुल्क र टिकट खर्च लिन नपाइने व्यवस्था गरेको वर्षौं भयो, तर म्यानपावर कम्पनीलाई लाखौं नबुझाई विदेश उडेका कामदार भेट्न मुस्किलै छ । सरकारले लगाएको ‘फ्रि भिसा, फ्रि टिकटको’ को नियम म्यानपावर कम्पनीहरूले ठाडै उल्लंघन गरिरहेका छन् भन्ने प्रमाण हुन्– बुटवलका २८ वर्षीय ज्ञानबहादुर थापा ।

एक लाख रुपैयाँ असुलेर ओमन पुर्‍याई अलपत्र पारिएका उनी जसोतसो नेपाल फर्किएका छन् तर उनलाई साहुको ऋण तिर्न फेरि विदेश नगई धर छैन । जान त जाने तर कसरी ? लाख घटीले उडिन्न । उनी सोध्छन्, ‘खै कुन म्यानपावरले पठाउँछ फ्रि भिसा, फ्रि टिकटमा विदेश ?’

यस्तो छ ज्ञानबहादुरको कथा
‘ओमनबाट स्कापफोल्डिङको भिसा आएको छ । कम्पनी राम्रै छ,’ नजिकका एक नातेदारले बुटवलका २८ वर्षीय ज्ञानबहादुर थापालाई खबर गरे, ‘मेरै साथीको म्यानपावरले पठाउने हो ।’ निर्माण क्षेत्रमा सबैभन्दा जटिल र कठिन मानिने स्कापफोल्डिङको काम ५ वर्ष दुबईमा गरेको अनुभव उनीसँग थियो । त्यहाँ ५ सय ५० रियाल (करिब १५ हजार रुपैयाँ) पाउँथे । त्यति कम तलबमा पसिना र धेरै समय खेर फाल्न मन लागेन ।

फर्किएर भारतको चेन्नईको एक होटलमा कुकको काम गर्न पुगे । तलब १५ हजार भारु । तर टाटुका सौखिन थापालाई त्यही टाटुले होटलमा करिअर बनाउन रोक्यो । हालै सिनामंगल काठमाडौंमा भेटिएका थापाले भने, ‘होटलमा प्रवेश रोकिएपछि आफूले जानेको त्यही स्कापफोल्डिङकै काममा फर्कने विचार गरिरहेको थिएँ, ओमनको अफर आयो ।’

नातेदारका साथीको म्यानपावर भनेपछि विश्वासिलो नै लाग्यो थापालाई । तैपनि, कम्पनीबारे बुझ्न बुटवलबाट काठमाडौं आए । अनेस्टी ओभरसिजले ‘मुवाराद वादी हिवी मोर्डन ट्रेड’ नामको कम्पनीको मागपत्र ल्याएको थियो । कम्पनीको करारपत्र हेरे । तलब १ सय २० ओमनी रियाल (करिब ३३ हजार रुपैयाँ) लेखिएको रहेछ । काम स्कापफोल्डिङ, दैनिक ८ घण्टा । स्वास्थ्य उपचार, खानबस्न, बिमा, टिकट कम्पनीबाटै उपलब्ध गराइने ।

ओमनको सोहारमा ज्ञानबहादुरसहितको टोली । उनीहरूलाई दूतावासले दुई चरणमा उद्दार गरी फर्काएको छ ।

‘कागज नै हेरेपछि विश्वास भयो, करारपत्रमा यति भएपछि समस्या नपर्ला,’ उनले सोचे । म्यानपावरले अन्तर्वार्तामा बोलायो । कम्पनीबाटै अन्तर्वार्ता लिन आउने खबरले विश्वास झन् बढायो तर म्यानपावर पुग्दा कम्पनीका प्रतिनिधि थिएनन् । सञ्चालक फारुख खानले उनलाई सोधे, ‘के हो स्कापफोल्डिङ ?’

‘स्कापफोल्डिङ फलाम जोडै आवश्यकताअनुसार फिक्स टावर बनाउने काम हो,’ अन्तर्वार्ताका क्रममा थापाले जवाफ दिए, ‘मलाई तीन जना सहयोगी र फलाम दिनुस् । यहीँ बनाएर देखाइदिन्छु ।’
‘तिमी उता (ओमन) पुगेर यही भन्न सक्छौ ?,’ उनले फेरि सोधे ।

‘भनेर होइन, गरेर देखाइदिन्छु,’ थापाले भने । उनी अन्तर्वार्तामा पास भए । म्यानपावरले सेवा शुल्कबापत १ लाख रुपैयाँ माग्यो ।
‘कम्पनी राम्रो छ, अरूलाई १ लाख २० हजारभन्दा तल गरेको छैन । तिमी आफ्नो मान्छे भएर १ लाखमै मिलाइदिएको,’ आफन्तले भने ।

थापाले म्यानपावरसँग मसिनो स्वरमा ‘फ्रि भिसा, फ्रि टिकट’ सुविधाबारे कुरा उठाए । सरकारले १० हजार रुपैयाँ मात्र सेवा शुल्क तोकेको, थप कुनै शुल्क नलाग्ने स्मरण गराए । ‘जुन म्यानपावरले १० हजारमा उडाउँछ, त्यसैबाट जानू,’ म्यानपावर मालिकले ठूलो स्वरमा जवाफ दिए ।

बाआमा, श्रीमती र ५ वर्षे छोरीसहितको परिवारको पालनपोषणको जिम्मा थियो । ‘काम राम्रो भए कमाएर तिरौंला,’ उनले सोचे । उड्नुअघि मात्रै म्यानपावरले कागजात हातमा थमायो । म्यानपावरलाई बुझाएको सहित गर्दा डेढ लाख खर्च भयो ।
गत डिसेम्बर २६ मा थापा ‘छोरालाई दिन नलागोस्, ऋण लागेर केही हुँदैन’ सोच्दै ओमन उडे ।
… … …
काठमाडौंबाट ओमनको राजधानी मस्कटको सीधा उडान जम्मा तीन घण्टाको हो तर ज्ञानबहादुरलाई जेट एयरलाइन्सले काठमाडौं–मुम्बई–मस्कटको रुटबाट १२ घण्टामा पुर्‍यायो । ८ घण्टा मुम्बईमै अडकिए । मस्कट विमानस्थल उत्रँदा रात परेको थियो । उनीभन्दा पहिले यही म्यानपावरबाट यसै कम्पनीमा काम गर्न आएका शेरबहादुर खत्री बंगाली ड्राइभर लिएर लिन आए ।

गाडीले तीन घण्टामा मस्कटबाट १ सय ६५ किमि टाढा सोहार पुर्‍यायो ।

त्यहाँ पुगेर नेपाली कामदारहरू बसेको कोठाको हालत देख्दा उनलाई अत्यास लाग्यो । एउटा पुरानो टहराको कोठा थियो । भित्तामा किला ठोकेर लुगा झुन्ड्याइएका थिए । सुत्ने खाट थिएन । भुइँमा फर्म बिछ्याइएको थियो । सडेगलेको सिरानी । ओढ्ने एउटा टावेल ।

‘हाम्रो बाख्रा गोठ बरु सफा हुन्छ,’ उनले भने, ‘रातभर उडुसले टोकेर सुत्नै दिएन ।’
भोलिपल्ट थाहा भयो, पहिलो लटमा आएका नेपाली कामविहीन भएर बसेका रहेछन् । ‘हामीले म्यानपावरलाई उजुरी गरेका छौं,’ शेरबहादुरले भने, ‘तिमीहरू किन आएको ?’

कामको टुंगो थिएन । खानाको प्रबन्ध थिएन । ज्ञानबहादुरले नातेदारलाई अवस्था दर्साए । म्यानपावरलाई भिडियो खिचेर पठाए । कुनै सुनुवाइ भएन । बरु तेस्रो लटका कामदार आइपुगे । अब टहरामा अलपत्र पर्नेको संख्या २० पुग्यो ।

कम्पनी खोज्दै सोहार सहरका गल्ली चहार्न थाले उनीहरू । बंगालीले कम्पनीको अफिस लगिदिए । एउटा साँघुरो कोठा थियो । कोठाभित्र एउटा कुर्सी, एउटा टेबल र एउटा कम्प्युटर थियो । भित्तामा कपडा झुन्ड्याइएको थियो । भुइँमा बंगालीहरू लम्पसार सुतिरहेका थिए ।

‘अफिसमा किन मान्छे सुतिरहेको ?,’ उनले सोधे, ‘बोन्धु तुम किदार फस्गए ?’ एउटा बंगालीले भन्यो । बंगाली कामदारले तलब नपाएको ७ महिना भएको, पैसा तिर्न नसकेर होटलले खाना खुवाउन छाडेको बताए । ‘म त छाँगाबाट खसेझैं भएँ । जिन्दगीमा कहाँ आएर फसियो भन्ने लाग्यो,’ थापाले सुनाए ।

बुझा थाहा भयो, कस्तो कम्पनीमा कामदार पठाउँदै छौं भन्ने म्यानपावरलाई नै थाहा रहेनछ । कम्पनीसँग सिधा ‘डिल’ पनि गरेको रहेनछ । साउदीमा रहेका एक दलालमार्फत अनेस्टीले भिसा पाएको थियो ।

पठाइएको कम्पनीका साहु सजिलै सम्पर्कमा आउने खालका थिएनन् । आक्कलझुक्कल आइहाले कामको खोजी भइरहेको बताएर पन्छिन्थे । कामदारको दुई समूह बन्यो, एउटामा ९ जना र अर्कोमा ११ जना । कम्पनीले काम दिलाउने भन्दै यम चौहानसहितको ११ जनाको समूहलाई मस्कट नजिकको ठाउँमा लिएर गयो । ज्ञानबहादुरको ९ जनाको टोलीलाई सुरतिर ।

चौहानको टोलीलाई बाटो खन्न लगाइयो, उनीहरूले मानेनन् । मालिकले कोठामा पनि बस्न दिएन । कसोकसो गैरआवासीय नेपाली संघ, बुद्धभिजन, ओमन नेपाली एकता समाजको सम्पर्कले उनीहरू मस्कट आइपुगे । दूतावासमा बस्ने सेल्टर थिएन । ११ जनामध्ये ५ जना बुद्धभिजन र ६ जनालाई गैरआवासीय नेपाली संघले आश्रय दिएर राख्यो ।

मस्कटस्थित नेपाली दूतावासले कम्पनी मालिकलाई भनिएको काम र तलब दिन नसक्ने भए नेपाल फर्काइदिन अनुरोध गर्‍यो । कम्पनीले म्यानपावरलाई दोष लगायो । ‘जे काम दियो, त्यही गर्नुपर्ने’ अडान कम्पनीले लियो । म्यानपावरले २७ सय ओमनी रियाल अर्थात् ७ लाख ३१ हजार रुपैयाँ कम्पनीलाई बुझाए मात्रै कामदार नेपाल पठाइदिने अडान लियो । कामदारको राहदानी फिर्ता गर्न मानेन । दूतावासमार्फत कामदारहरूले कम्पनीविरुद्ध श्रम अदालतमा मुद्दा हाले ।

उता, ज्ञानबहादुरको ९ जनाको टोलीलाई क्याप कम्पनीमा स्कापफोल्डिङ कामका लागि लगियो । अन्तर्वार्ता पास भएर काममा जाँदा ‘तिमीहरू आएको सप्लाई कम्पनीको बिमा छैन’ भन्दै काम गर्न दिइएन । ‘भित्र दुर्घटना भयो भने जिम्मेवारी लिने कोही छैन’ भन्दै साइटका सुरक्षा अधिकारीले फर्काइदिए ।

ज्ञानबहादुर क्यापको नक्कली परिचयपत्र बनाएर म्याथनोल कम्पनीको ग्यास प्लान्टमा छिरे । क्याप कम्पनीमा स्कापफोल्डिङ काम गर्ने नेपाली मात्रै थिए । धेरै खोजबिन भएन । काम थालेको २० दिनमा उनी समातिए । ‘हाम्रो आईडीमा कुल्ली लेखेको रहेछ । कुल्लीलाई स्कापफोल्डिङको काम कसरी लगायो भन्दै निकाल्यो,’ उनले सुनाए ।

निकालिएपछि क्यापको क्याम्पमा बस्न पाइएन । खल्तीमा सय ओमनी रियाल थियो । कम्पनी मालिक सम्पर्कमै आएन । सुरमा कार्यरत गौतम खडकाले गाडीको प्रबन्ध मिलाएर मस्टक पठाइदिए । ‘नेपाली संस्थाका दाइहरू खोज्दै मस्कट आइपुगे,’ उनले भने । उनी मस्कट पुग्दा ११ जनाको अर्को टोली नेपाल फर्किइसकेको थियो ।

८ जनाको ज्ञानबहादुरको टोलीलाई प्रवासी नेपाली मञ्चले आश्रय दियो । दूतावासले नेपाल फर्काउने प्रक्रिया सुरु गरेको एक हप्तामै उनीहरू नेपाल फिर्न पाए । टिकट म्यानपावरले नै पठाइदियो । ओमनीले पासपोर्ट फिर्ता दिएन, दूतावासले ट्राभल डकुमेन्ट बनाइदियो ।
… … …
एउटा म्यानपावरको हेलचेक्रयाइँले नेपाली कामदार अलपत्र परे । जसोतसो १९ जना सकुशल काठमाडौं फिरे । एक जना अझै ओमनमै अल्झेका छन् । त्यत्रो हन्डर खाएर फर्केका ज्ञानबहादुरलाई अहिले बुटवल जाने आँट छैन । ‘छोरीलाई कहिले भेटौंजस्तो भएको छ । सम्झँदा मन थामिँदैन,’ उनले भने, ‘तर रित्तो हात कसरी जाउँm ? साहु मुख आँ गरेर बसेको छ ।’

उनी न्याय र क्षतिपूर्तिका लागि वैदेशिक रोजगार विभाग पनि पुगेका छैनन् । अझै म्यानपावरकै भरमा छन् । म्यानपावरले अर्को देश पठाइदिने आश्वासन दिएको छ । ‘राहदानी बनाउन निवेदन दिइसकेको छु, अब फेरि कुनै देश जानुपर्‍यो, लाख घटी भन्दैनन्,’ उनले सोधे, ‘शून्य लागतमा पठाइदिने म्यानपावर भेटेको छैन । त्यस्तो म्यानपावर खोज्न कहाँ जाने ?’
होम कार्की/ कान्तिपुरबाट

152 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank