प्रदेश २ मा को–को छन् मन्त्रीको आकांक्षी ?

बुधबार, फाल्गुन २, २०७४



प्रदेश २ मा बिहीबार सरकार गठन हुने भएको छ । मुख्यमन्त्रीका रूपमा फोरम संसदीय दलका नेता मोहम्मद लालबाबु राउतलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार नियुक्त गर्दै छन् । उनले बिहीबार पद तथा गोपनीयताको शपथ लिनेछन् । लगत्तै उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।

प्रदेश २ मा मन्त्री बन्नेको नामबारे चर्चा सुरु भएको छ । प्रदेशमा सरकार बनाउन फोरम र राजपाबीच औपचारिक सहमति भइसकेको छ । सरकार बनाउन दुवै पार्टीबीच मन्त्रालय बाँडफाँडसहित सहमति भएलगत्तै दुवै पार्टीमा मन्त्रीका आकांक्षीहरूले लबिङ थालेका छन् ।

फोरमभित्र सातजनाको नाम मन्त्री बन्ने चर्चामा छ । चर्चामा रहेका सबैजना प्रत्यक्ष निर्वाचित सांसद छन् । फोरमभित्र विजय यादव, शैलेन्द्रप्रसाद साह, सरोजसिंह कुशवाहा, रामअशिष यादव, कौशल यादव, ज्ञानेन्द्रकुमार यादव, योगेन्द्र यादवको नाम चर्चामा छ । जसमध्ये फोरमका कोषाध्यक्षसमेत रहेका विजय यादव मन्त्री बन्ने लगभग पक्काजस्तै छ । स्रोतका अनुसार उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना छ ।

राजपामा विवाद
प्रदेश सभामा राजपाका २५ सांसद छन् । उनीहरूमध्ये १५ प्रत्यक्ष निर्वाचित र १० जना समानुपातिकबाट छानिएका छन् । राजपा अध्यक्षमण्डलको बैठकमा समानुपातिक सांसदलाई मन्त्री नबनाउने विषय उठेपछि विवाद भएको छ ।

भागबन्डाका आधारमा निर्णय हुने राजपाभित्र महेन्द्रराय यादवले मन्त्रीमा पहिलो चरणमा प्रत्यक्ष चुनाव जितेकालाई प्राथमिकता दिनुपर्ने मत राखेका थिए । तर, अध्यक्षमण्डलका केही नेताले मन्त्री बनाउन चाहेका सांसद समानुपातिक मात्र छन् । त्यसैले मन्त्रीको नाममा सहमति नगरी अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर मधेस झरेका छन् ।

स्रोतका अनुसार डिम्पलकुमारीलाई मन्त्री बनाउन अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाको दबाब छ । डिम्पल अनिलकुमार झाकी श्रीमती हुन् । उनी समानुपातिक सांसद हुन् । अध्यक्षमण्डलकै अर्का सदस्य राजकिशोर यादवले समानुपातिक सांसदलाई मन्त्री बनाउन चाहेका छन् । उनले नेत्रविक्रम साहलाई मन्त्री बनाउन दबाब दिएको बुझिएको छ ।

महेन्द्रराय यादवको कोटाबाट रामनरेश राय र शरत्सिंह भण्डारीको कोटाबाट जयनुल रायनले मन्त्रीका लागि आकांक्षा राखेका छन् । राजेन्द्र महतो समूहबाट मनीष सुमनसँगै नवलकिशोर साह र उपेन्द्र महतो पनि मन्त्रीका आकांक्षी देखिएका छन् ।

312 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank