मिडिया काउन्सिल विधेयक बारे सांसदहरुसंग छलफल

मङ्लबार, जेष्ठ १४, २०७६



काठमाडौं । नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकका बारे विभिन्न दलबाट राष्ट्रियसभा तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसंग छलफल गरेको छ ।

कार्यक्रममा राष्ट्रियसभाका सांसद तथा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रियसभा सचिवालयमा दर्ता भएको मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश गर्न बाँकी रहेको बताए ।

उनले मिडिया काउन्सिल विधेयकमा चासो बढेकाले प्रतिपक्ष पार्टीका सांसद, सञ्चार तथा सूचना प्रविधि मन्त्री लगायत सरोकारवालासंग छलफल गरी सहमतिका आधारमा अघि बढाउने गरी हाललाई उक्त विधेयक रोकिएको बताए । उनले लोकतन्त्रको विश्वव्यापी मुल्य मान्यता तथा संविधानको मर्म विपरित कुनै पनि ऐन, कानुन र विधेयकहरु राष्ट्रियसभाबाट अगाडि नबढाउने बताए ।

प्रतिनिधिसभा सांसद् तथा नेपाली कांग्रेसका सचेतक पुष्पा भुषालले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले विचलन ल्याएको बताएकी छिन् । राज्यले पत्रकारलाई कलम चलाए वापत दण्ड गर्ने नियतबाट उक्त विधेयक ल्याएको भन्दै उनले जनताको आवजलाई रोक्ने विधेयकलाई सरकारले फिर्ता गर्नुपर्ने र लोकतान्त्रिक पद्धति रहेको देशमा त्यसका मुल्य मान्यतालाई पालना गर्नुपर्ने धारणा राखेकि छन् ।

प्रतिनिधिसभाका सांसद् तथा राष्ट्रिय जनता पार्टिका नेता  लक्ष्मणलाल कर्णले पत्रकारको अधिकार खोस्नु भनेको लोकतन्त्रको अधिकार खोसिनु सरह रहेको बताए ।  संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतलाई स्वीकार गरिसकेपछि कुनै पनि कानुन त्यसको विपरित आउनु नहुने भन्दै उनले मिडिया काउन्सिल विधेयकमा रहेका केही प्रावधानहरु प्रेस स्वन्त्रता विरोधी रहेको भन्दै त्यसलाई सच्याउनुको विकल्प नरहेको धारणा राखेका छन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रस्तावित मिडिया काउन्सिल विधेयक अन्तर्राष्ट्रिय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मुल्य मान्यता विपरिता रहेको भन्दै त्यसलाई फिर्ता गर्नुपर्छ भन्ने महासंघको स्पष्ट पारे ।

महासंघ कानुन नै बनाउनु हुँदैन भन्ने पक्षमा नरहेको भन्दै उनले यदि उक्त विधेयकलाई संशोधन गर्ने हो भने महासंघले दिएको सुझावका आधारमा संशोधन गरिनु पर्ने बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata