विद्युतीय कारोबार ऐन खारेजीको माग गर्दै पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

बुधबार, बैशाख ४, २०७६



काठमाडौं । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दर्फा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम गरेकाे भन्दै आन्दोलनको घोषणा गरेकाे हो ।

जस अन्तर्गत बुधबार विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्ने कार्यक्रम रहेकाे नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जनाएका छन् ।

बैसाख ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म नेपाल पत्रकार महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरिएको छ ।

यसपछिका थप कार्यक्रम महासंघको बिहिबार बस्ने केन्द्रीय समिति बैठकले तय गर्ने महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ। महासंघले सबै जिल्ला शाखा तथा पत्रकार एवं सञ्चारमाध्यमहरुमा घोषित कार्यक्रमलाई सफल पार्न  अनुराेध समेत गरेकाे छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank