वर्षा नआउँदै बाढीले सास्ती

सोमवार, बैशाख ३१, २०७५



काठमाडौं ३१ बैशाख ।  राइनास नगरपालिका ६ धमिलिकुवा र ८ तार्कुघाटको सीमामा लुखोला छ । तार्कुघाटमै भैंसेखोला पनि छ ।  यी दुवै ठाडाखोला हुन्। निर्माणाधिन मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने यस ठाउँको तल्लो भेगमा घाम लागिरहेपनि माथिल्लो भेगमा पानी पर्दा खोला पार गर्न स्थानीयलाई सधैंको सास्ती र जोखिम हुन्छ।

तार्कुघाट–धमिलिकुवा–बोराङखोला सडकमा पर्ने उक्त खोला पार गर्दै दैनिक सार्वजनिक सवारी, राइनास नगरपालिका कार्यालय जानेआउने सेवाग्राही, विद्यालयको गाडीमात्रै नभइकन मध्यपहाडी लोकमार्गकै टिपर, ट्रक तथा मालबहाक एवं अन्य सवारी साधन गुड्ने गर्छन्। तर, खोलामा आएको बाढीले ती सवारी घण्टौं रोकिनु परेको स्थानीय बताउँछन्।

तार्कुघाटका स्थानीय मीनप्रसाद रानाभाटका अनुसार लुखोला बढ्दा मानिसलाई समेत बगाउने गरेको छ। वारपार हुन नसक्दा कयौंका काम अलपत्र परेका छन्। घुमेर जाने कुनै ठाउँ छैन। ‘लुखोला बौलायो भने त साह्रै आपत छ। मान्छे त तर्नै सकिँदैन, गाडी समेत फस्छ’ उनले भने।

बाढीले दैनिक ओहोरदोहोर गर्ने स्कुले केटाकेटी बढी मर्कामा परेका छन्। कहिले स्कुल नै जान नसक्ने र कहिले स्कुलबाट फर्कदा समस्या पर्ने गरेको राइनास ८ कल्लेरीका ६७ वर्षीय सेते विकले बताए। नर्सरीमा पढ्दै गरेका नाती आयुषलाई उनी सधै स्कुल बसमा राखेर लानेल्याउने गर्छन्। ‘खोला बढेपछि न आफैं तर्न सक्नु, न बस नै’ उनले भने, ‘बिहानै बाढी आए नातीले पढ्न पाउँदैन। दिउँसो बाढी आए घर आउन पाइँदैन।’

धमिलिकुवास्थित राइनास भिजन इङ्ग्लिस बोर्डिङ स्कुलका सवारी चालक दुर्गाबहादुर रानाभाटका अनुसार बाढीले बस रोकिँदा समयमा स्कुल र घर पुर्‍याउन नसकिएको बताए।

सडकका बीचबीचमा ठाडा खोला रहेपनि पूल निर्माण गरिएको छैन। वरपरका सडक ग्राभेल हुने क्रममा छन्। ‘वर्षा सुरु भएपछि यस्ता समस्या पहिल्यैदेखिको हो’ मध्यपहाडि लोकमार्गकै ट्रिपर चालक रामबहादुर विकले भने, ‘बाढीले पहिलेको खोलाले खनेको भाग थप गहिरो बनाउँदै लगेपछि गाडी तार्न सकिन्छ न त केही गर्नै सकिन्छ।’

खोलामा गाडी फसेपछि खोला सुक्ने आशमा बस्नुबाहेक अरु विकल्प नभएको बताए। ‘सवारी फसेपछि डोजर ल्याएर खोला सम्याउनुका साथै ढुंगामुढा राखेर तार्नुपर्ने अवस्था छ’ उनले भने, ‘ट्रक त जसोतसो पार गर्ला, अन्य सवारी साधन भने तर्न नसकेर यात्रु समस्यामा पर्ने गरेका छन्।’ उनका अनुसार खोलाले दायाँबायाँ कटान गरेर पहिरोको जोखिम पनि निम्त्याएको छ। सडक विस्तारको काम चलेपनि पानी आउने समयमा बाढी पहिरोले सडक भत्काइदिने गरेको छ।

राइनास नगरपालिकाभित्रको मुख्य सडक धमिलिकुवा–बोराङखोला सडकको १० किलोमिटर सडक स्तरोन्नति हुँदैछ। स्तरोन्नति हुँदै गर्दा हिलाम्य बाटोमा सवारी दुर्घटना हुने गरेको छ। उक्त सडक नपुग्दैको निर्माणाधिन मध्यपहाडि लोकमार्गमा पनि हिलाम्य सडकले जोखिम बढ्दो रहेको स्थानीय बताउँछन्। पूर्वी क्षेत्रको बोराङखोलाबाट उक्त बाटो हुँदै बेंसीसहर आवतजावत गर्ने गर्छन्।

राइनासकै तार्कुघाट, मोहोरियाकोट, प्यारजुङ लगायत गाउँका स्थानीय दैनिक सेवा लिन तीतपिप्लेस्थित गाउँपालिका कार्यालय आउनेजाने गर्छन्। तर, ती खोलाहरुमा पूल नबन्दा सेवाग्राही जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। आकाशको बादल हेरेर पानी पर्ने वा नपर्ने निक्र्योल गरी सेवा लिन आउनेजाने गर्ने गरेका छन्।

सडक विभाग अन्तर्गत पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना (पश्चिम खण्ड) को लमजुङ क्षेत्रका इन्जिनियर सन्तोष थापाले लुखोलामा १५ मिटर लम्बाईको २ लेनको मोटरेवल पूल निर्माणको तयारी गरिएको बताए।

भैंसेखोलामा पूलको डिजाइन हुँदै गरेको बताए। ‘दुवै खोलामा पूल निर्माण भएपछि नागरिकले सास्ती व्यहोर्नुपर्ने छैन’ उनले भने। उनका अनुसार लुखोलाको मोटरेवल पूलको निर्माण कार्य आगामी असोजमा सक्नेगरी काम अघि बढाइएको छ। स्थानीयले भने वर्षायाममा उक्त खोलामा काम हुन नसक्ने आशंका व्यक्त गरेका छन्। कान्तिपुरबाट

70 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank