पहिलो मेयरका ती दिन…

बुधबार, बैशाख २७, २०७४



काठमाडौं २७ बेशाख ।

यो नगरको निर्वाचन भए पनि संसद्कै जत्तिको महत्त्वपूर्ण छ । यो सुरुको पाठशालाबाट सिकेर हामीले माथिल्लो तहको शासन सञ्चालन गर्नुपर्छ । यसका लागि तपाईंले सक्षम उम्मेदवार चिनेर भोट हाल्नुहोला ।’ झट्ट सुन्दा स्थानीय तहका लागि मत माग्दै गरेको कुनै उम्मेदवारको भाषणजस्ता लाग्ने यी वाक्यांश ६३ वर्षअघिका हुन् ।

काठमाडौं नगरपालिकामा २०१० मा भएको पहिलो निर्वाचनमा विजयी ‘मेयर’ जनकमान श्रेष्ठले ज्यावहाल, ब्रह्मटोल, इनखाटोल र लगनतिर भाषण गर्दा प्रयोग गरेका शब्दावली थिए– ‘तपाईंलाई मैले गरिआएको सेवा र व्यवहार सर्वविदितै छ । मेयरमा विजयी गराउनुभयो भने यो सहरको राम्रो व्यवस्था गर्छु ।’ आवधिक निर्वाचन र स्थानीय स्वशासनको अविच्छिन्न अभ्यास हुन नसक्दा ‘नगरपिता’ ले २५ वर्षे जवानीमा गरेको दमदार भाषण र नगरवासीलाई देखाएको सपना साकार हुन भने बाँकी नै छ ।

श्रेष्ठ नेतृत्वको डेढवर्षे कार्यकालमा निर्माण गरिएका सिमेन्टका पानीट्यांकी काठमाडौंका भित्री सहरमा अझै बाँकी छन् । ‘मोटर नचल्ने समय भएकाले बाटो–घाटोको खासै माग थिएन,’ उनी भन्छन्, ‘मरुटोलभन्दा तलको सहरमा खानेपानीको समस्या थियो ।’

बटुवाको चाप धेरै रहेका तत्कालीन सहरी क्षेत्र असन, इन्द्रचोक, मखन, मरु गणेशस्थान, महाबौद्ध, क्षेत्रपाटीलगायतका स्थानमा सिमेन्टको पानीट्यांकी बनाएको उनी बताउँछन् । ‘सार्वजनिक धारा नजिकै बनाइएका ती ट्यांकीमा स्थानीयले पानी भरिदिन्थे, धारामा पानी आएका बेला,’ उनले भने, ‘यसबाट बजारमा आउने सर्वसाधारणले जति बेला पनि पानी पिउन पाउने भए ।’ नक्सा पासका लागि लिइने दस्तुर मात्रै आम्दानीको स्रोत भएको समयमा सायद त्यो विकासको ठूलै फड्को थियो ।

राजधानीका कुचीकारले मासिक ७ मोहोर ‘तनखा’ मा सहर सफाइ गर्ने त्यो जमानामा मेयरसावको कुनै तलब थिएन । ‘बैठकबापत दस रुपैयाँसम्म भत्ता लिन सकिने तर महिनामा बढीमा ४ वटाभन्दा बढी बैठक बस्न नपाइने नियम थियो,’ उनी सम्झन्छन्, ‘त्यतिबेला मुखियाको तलब ३० रुपैयाँ थियो । हामीले बढीमा ४० रुपैयाँसम्म बैठक भत्ता लिन सक्थ्यांै ।’ स्थानीय निकायको शासन सञ्चालन गर्ने व्यावहारिक अनुभव र अभ्यास नभएको ठाउँमा निर्वाचित मेयर त्रिचन्द्र क्याम्पसका स्नातक थिए । साइनोमा मामाका छोरा पर्ने पुष्पलाल श्रेष्ठ र उनका साढु दाइ मनमोहन अधिकारी श्रेष्ठका राजनीतिक र सांगठनिक गुरु थिए ।

२००७ को क्रान्तिले राणाशाही फालेको तर प्रजातन्त्र संस्थागत हुन बाँकी रहेका बेला राजधानीमा भएको पहिलो निर्वाचनमा श्रेष्ठले तत्कालीन काठमाडौं नगरपालिकाको वडा नम्बर २ बाट २ हजार ६ सय मत पाएका थिए । दामोदर शर्मासहितका उनका प्रतिद्वन्द्वीको जमानत जफत भएको उक्त निर्वाचनमा निर्वाचित १८ वडाध्यक्षमध्ये साधना प्रधान एक मात्र महिला उम्मेदवार थिइन् ।

आजको जस्तो मतपत्रमा स्वस्तिक छाप लगाउने अभ्यास त्यतिबेला सुरु नै भएको थिएन । श्रेष्ठका अनुसार भोटका लागि उम्मेदवारले प्राप्त गरेको चुनाव चिह्न आ–आफ्ना मतपेटिकामा टाँस्ने गरिन्थ्यो । मतदान अधिकृतले छाप लगाएर दिएको मतपत्र जुन उम्मेदवारको ढवाङमा हाल्यो, उसैले एक भोट पाउँथ्यो । ‘पाँचकुने ताराभित्र धपक्क बलेको कमलको फूल मेरो चुनाव चिह्न थियो,’ ८९ वर्षीय श्रेष्ठ सम्झन्छन्, ‘मतदानको दुई दिनअघि नै लगन केन्द्रमा राखिएको मतपेटिकामा मैले मेरै टोलका पेन्टर बोलाएर पाँचकुने ताराभित्र कमलको फूल अंकित चिह्न लेख्न लगाएँ ।

मेरो वडाका सबैजसो मतदाताले त्यसैमा मत हाले ।’ तत्कालीन कम्युनिस्ट पार्टीका उम्मेदवार श्रेष्ठका प्रतिद्वन्द्वी कांग्रेसका दामोदर शर्मा र प्रजापरिषदका कनकबहादुर जोशीको जमानत जोगिएन । श्रेष्ठलाई तत्कालीन नगरको कुल मतदाताको सम्झना नभए पनि तत्कालीन २ नम्बर वडा (हालको १२ र २१) बाट आफूले २ हजार ६ सय मत पाएको सम्झना ताजै छ ।

‘पार्टीमा लागेको मान्छे, चुनाव जितेपछि पनि कुनै भोजभतेर भएन,’ आसन्न निर्वाचनको भडकिलो प्रचारशैलीप्रति संकेत गर्दै उनी भन्छन्, ‘निर्वाचनको एक महिनाजति पछि १८ वटै वडाबाट निर्वाचित अध्यक्षहरूले मलाई मेयर निर्वाचित गरे ।’ उनका अनुसार त्यतिबेला उनको पार्टीका ६, प्रजापरिषदका ५, कांग्रेसका ३, खुकुरी दलका १ र स्वतन्त्र ३ वडाध्यक्ष निर्वाचित थिए ।

राणाहरूले २००४ मा पनि काठमाडौं नगरपालिकामा निर्वाचनको घोषणा गरेका थिए । शिक्षित होइन, साक्षर व्यक्तिकै कमी रहेको त्यस समयमा सबै वडाबाट सर्वसम्मत वडाध्यक्ष चुनिए पनि राणाहरूले उनीहरूलाई ‘मेयर’ चुन्ने अधिकार दिएका थिएनन् । रोलवाला राणा परिवारबाटै तोकिएका व्यक्ति प्रमुख हुने व्यवस्थामा टोल–टोलबाट सर्वसम्मत चुनिएका वडाध्यक्षहरूले शंकरदेव पन्त (शंकरदेव क्याम्पसका संस्थापक) लाई उपमेयर चुनेका थिए ।

राणाकालमा सर्वसम्मत चुनिएका जनप्रतिनिधिले काम गर्ने वातावरण नपाएपछि वर्ष दिन पुग्दा नपुग्दै सामूहिक राजीनामा गरेको उनी बताउँछन् । बेलायती दूतावासको निम्तो मान्न जाँदा मात्रै आफू ‘नगरपिता’ भएको श्रेष्ठले जानकारी पाए । केशरशमशेर राणाले बेलायती राजदूतसँग परिचय गराउँदा श्रेष्ठलाई ‘नगरपिता’ सम्बोधन गरेका थिए । तर, श्रेष्ठ नेतृत्वको जनप्रतिनिधिले आफ्नो कार्यकाल पूरा गर्न पाएनन् ।

नयाँसडकको जुद्ध सालिकको दक्षिण, सिद्धिचरण चोकनजिकै रहेको नगरपालिका कार्यालयमा उनले पदबहाली गर्दा कर्णेल हरिवीर त्यसको मुख्य हर्ताकर्ता थिए । त्यहाँ मौज्दात ५ लाख रुपैयाँ तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारले माथि तानेपछि स्रोतविहीन भएको नगरपालिका सञ्चालन गर्न नसकिएको श्रेष्ठ बताउँछन् । त्यही रकम नगरको विकासका लागि आफूहरूले फिर्ता पाउनुपर्ने उनीहरूको मागका कारण तत्कालीन सरकारसँगको द्वन्द्व चर्किएपछि पहिलो निर्वाचित मेयर गिरफ्तारीमा परे ।

निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गरेको ‘इस्तिहार’ विपरीत बैठक गर्न गएका श्रेष्ठलाई नगरपालिकाबाटै गिरफ्तार गरिएको थियो । बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चको आदेशअनुसार डेढ महिनापछि रिहा भए पनि उनले पुन: नगरपालिकाको नेतृत्व गर्न पाएनन् । करिब डेढ वर्षमात्रै जेनतेन काम गर्न पाएको पहिलो निर्वाचित संस्था त्यतिकै ‘डिसमिस’ गरियो । कान्तिपुरबाट

401 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank