अर्थमन्त्री र गृहमन्त्रीको कार्यकाल गोलाप्रथामा निर्भर

सोमवार, जेष्ठ २८, २०७५



काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापाको कार्यकाल गोलाप्रथामा निर्भर हुने भएको छ । राष्ट्रिय सभा सदस्य खतिवडा र थापाले आगामी असार ४ गते गोला तान्नेछन् ।

गोलाप्रथाबाट सदस्यहरूको पदावधि २, ४ र ६ वर्ष निर्धारण गरिनेछ । राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षसहित ५९ जना सदस्यको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथाको प्रयोग हुनेछ ।

संविधानअनुसार राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र बाँकी एक तिहाइको ६ वर्ष हुनेछ ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठजना र राष्ट्रपतिबाट मनोनीत तीनजना गरी ५९ जना सदस्य छन् । राष्ट्रियसभा नियमावलीअनुसार पदावधि निर्धारणका लागि खुला र महिलातर्फ क्लस्टर र प्रदेशअनुसार छुट्टाछुट्टै गोलाप्रथा हुनेछ भने दलित र अपांगता भएका वा अल्पसंख्यकको सातै प्रदेशबाट निर्वाचित सातजनाबीच एकैपटक गोला हानिनेछ । राष्ट्रपतिबाट मनोनीत तीनजनाको छुट्टै गोलाप्रथाबाट पदावधि निर्धारण गरिनेछ ।

गोलामा २, ४ र ६ वर्ष लेखेर नेपाली भाषाको वर्णानुक्रमअनुसार सदस्यहरूलाई गोला तान्न लगाइनेछ जसअनुसार दुईजनाको पदावधि २ वर्ष, अर्को दुईजनाको ४ वर्ष र दुईजनाको ६ वर्ष हुनेछ ।

नियमावलीअनुसार दलित र अल्पसंख्यक सदस्यबीच गोलाप्रथा गराउँदा २, ४, ६ र शून्य वर्ष लेखिएको गोला राखिनेछ । शून्य वर्ष गोला तान्ने एकजनाले दोस्रोपटक फेरि ४ वा ६ वर्ष लेखिएको गोलामध्ये एक झिक्नेछ ।

गोला प्रथाबाट खाली हुन आएको स्थानमा त्यसै क्लस्टरबाट पुनः निर्वाचन गरिनेछ । राष्ट्रियसभा निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरूले मतदान गर्नेछन् । स्थानीय तहका पदाधिकारीको मतभार ४८ र प्रदेशसभा सदस्यको मतभार ७८ हुन्छ ।

5290 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank