राष्ट्रियसभा निर्वाचन प्रक्रिया शुरु, मतदाताहरुकाे नामावली सार्वजनिक

बिहिबार, पुस १७, २०७६



काठमाडौँ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचन प्रक्रिया बिहीबारदेखि सुरु भएको छ ।  निर्वाचन कार्यक्रम अन्तर्गत निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गरेको हो । प्रकाशित नामावली माथि आज अपराह्न चार बजेसम्म दाबी विरोधको समय तोकिएको छ ।

शुक्रवार उजुरीमाथि छानबिन गरेर अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारी मनोनयन भने आइतबार हुनेछ । मनोनयन दर्ता गरेका उम्मेदवारहरूमाथि उजुरीका लागि २१ गतेको समय निर्धारण गरिएको आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली भने २५ गते प्रकाशित हुनेछ ।

निर्वाचन चिन्ह पनि सोही दिन प्रदान गरिने आयोगले जनाएको छ । माघ ९ गते सात वटै प्रदेशका तोकिएका मतदान केन्द्रमा हुनेछ । प्रदेश-१ को वीरेन्द्र सभागृह विराटनगर, प्रदेश-२ को महेन्द्र नारायण स्मृति भवन धनुषा र प्रदेश-३ को ललितपुर महानगरपालिकाको वडा भवन मतदान केन्द्र तोकिएको छ ।

त्यस्तै गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय पोखरा, प्रदेश- ५ को दाङ स्थित कर्मचारी मिलन केन्द्र भवन, कर्णाली प्रदेशको सुर्खेत निर्वाचन कार्यालय भवन र सुदूरपश्चिम प्रदेशका लागि डोटीको पद्म पब्लिक मुक्तिनारायण माविलाई मतदान केन्द्र निर्धारण गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments