एकादेशको शासक !

बुधबार, जेष्ठ २९, २०७६



एकादेशको शासक – मौन आवाज

मान्छेहरु –
भोकै थिए तर / मौन थिए !

मान्छेहरु –
नांगै थिए तर /मौन थिए !

मान्छेहरु –
आजित थिए तर / मौन थिए !

आवाज हराएर –
मान्छेहरु मस्त निदाईरहेको देशमा
एकदिन विष्पोट भयो ।

मस्तिष्कबाट विचार हुत्याएर
मानिसहरु भाग्न थाले –
सम्पुर्ण उत्तेजना सखाप भैसकेको माटोमा
अकस्मात /
चिसा पाइतालाहरु घिसार्दै फुत्त निस्कियो –
समयको एउटा नयाँ शासक
र / घोषणा गर्यो – प्रेमको मृत्यु !

– बहुलताको मृत्यु !

फुलहरुलाई कारावास पठायो
काँडाहरुले दरबार घेर्यो
र / प्रेमिहरुलाई फाँसी दियो !

सुन्दर स्त्रीहरुका छाला काढेर
सहरका पर्खालहरुमा टाँग्यो
विशाल खाल्डाहरुमा योनिहरु पुर्यो
र/लिंग काटिएका सिपाहीहरुलाई गस्तीमा खटायो ।

सपना देख्ने आँखाहरु निकाल्यो
र / गिद्दलाई दियो ।

प्रतिरोधी हृदयहरु छातिबाट झिक्यो
र / कुकुरलाई दियो ।

हिंड्न् सक्ने खुट्टाहरु जमिनबाट उखेल्यो
र / रुखमा झुण्ड्याईदियो ।

-सम्पुर्ण शरीरहरुबाट रगत झिक्यो
– वीर्य झिक्यो
– स्वास झिक्यो
र / सबैभन्दा महत्वपूर्ण संवेदना झिक्यो ।

– कल्पना शक्ति झिक्यो
– सिर्जना शक्ति झिक्यो ।

नयाँ शासक नपुंसक थियो
-उसले चिन्तनका सबै सम्भावनाहरु नष्ट गर्यो ।

नयाँ शासक गँजेडी थियो
– उसले गाँजा खेती गर्यो ।

नयाँ शासक रक्स्याहा थियो
– उसले मदिरा उत्पादन गर्यो ।

नयाँ शासक सन्की थियो
– उसले अनेक उपद्रो गर्यो ।

तुषारोको मौसममा नग्न दौड
गर्मी याममा अग्नि – नृत्य
वर्षातमा रात्री – उत्सव
र /
हरेक वर्ष आफ्नो जन्मदिनमा राष्ट्रिय दिवस मनायो !

नयाँ शासकले –
नयाँ संविधान बनायो ।

– मुर्खलाई मुख्यमन्त्री
– पत्रुलाई परराष्ट्रमन्त्री
– गुण्डालाई गृहमन्त्री
– डाँकालाई रक्षामन्त्री
– फटाहालाई सल्लाहकार
र / चोरलाई न्यायाधीश नियुक्ति गर्यो ।

नयाँ शासक केहि नयाँ गर्न चाहन्थ्यो
नयाँ शासकले
एउटा अनौठो उर्दी जारी गर्यो –

अबदेखि /
यो देश गणतान्त्रिक देश हुनेछ ।

स्वभाविक हो –
हामी त्यही देशका नागरिक हौं !

मौन आवाज

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank