अर्थविदहरू भन्छन्–सरकारले काम गराइको गति बढाउनुपर्छ

शनिबार, बैशाख १५, २०७५



काठमाडौं ।  अर्थविदहरूले समृद्धि हासिल गर्ने गरी सरकार अगाडि बढ्नुपर्ने बताएका छन् । समृद्धिका लागि सरकारले काम गराइको गति बढाउनुपर्ने, उत्पादनको स्केल बढाउनुपर्ने र सिप र क्षमतालाई ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा अर्थविद् डा. डिल्लीराज खनाल, पूर्वअर्थमन्त्री डा. शंकरप्रसाद कोइराला र पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले निरन्तरताभन्दा माथि उठेर नीति तथा कार्यक्रम ल्याउनुपर्ने र कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने सुझाए ।

अर्थविद् खनालले सरकारले अब ल्याउने नीति तथा कार्यक्रम रुपान्तरण शैलीमा ल्याउनुपर्ने सुझाव दिए । उनले भने, ‘अब चल्तेचलातेबाट हुँदैन, रुपान्तरणसहित नीति तथा कार्यक्रम ल्याउनुपर्छ, सरकारको त्यतातिर ध्यान जाओस् ।’

देशको शासन प्रणालीमा रुपान्तरण हुनुपर्ने उनको तर्क छ । उनले थपे, ‘सुशासनमा आमुल रुपान्तरण हुनुपर्छ, सुशासनमा ब्रेक–थु, सर्टेन सिफ्ट गर्नुपर्छ ।’ आर्थिक संरचना अनुसार कृषिलाई आधुनिकिकरण, पूर्वाधारमा गुणस्तरीयता कायम गर्नु र सबै क्षेत्रमा रहेका असन्तुलन हटाउनुपर्नेमा उनको जोड थियो ।
अहिलेको अर्थ नीतिले काम नलाग्ने उनको दाबी थियो । उनले भने,‘अहिलेको अर्थ नीतिले काम लाग्दैन्, यसको लागि रुपान्तरण जरुरी छ ।’ नेपालको वित्त नीतिलाई पनि ठोस रुपमा सच्याउनुपर्ने सुझाए । तत्कालिन, अल्पकालिन र दीर्घकालिन योजना बनाएर अगािड बढ्नुपर्नेमा उनले जोड दिए ।

पूर्वअर्थमन्त्री डा. कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले मुलुकमा समृद्धि प्रदान गर्ने विश्वास लिँदै कामको गति बढाउन सुझाव दिए । प्रायः दलहरूबीच समृद्धि हासिल गर्ने कुरामा एकरुपता रहेकाले जनताको अपेक्षा पनि धेरै भएको उनको तर्क छ ।

उनले भने, ‘विद्युतको सवालमा कांग्रेसले दश वर्षमा दश हजार मेगावाट उत्पादन गर्छौं भनेको छ, एमाले–माओवादी केन्द्रले दश वर्षमा १५ हजार भनेका छन्, खाली संख्याको कुरामा मात्रै तलमाथि हो, सबैले एजेण्डा त त्यही उठाएका छन् ।’

वर्तमान सरकार ५ वर्षको लागि गठन भएकोले अब स्थायित्व कायम हुने उनको भनाई थियो । उनले भने, ‘कम्तिमा यो सरकारले आगामी पाँच वर्षसम्मको लागि काम गर्छ, खुट्टा टेक्ने सरकार आएको छ ।’ सरकारले पहिलोपटक संघीय बजेट ल्याउने भएकोले यसको लागि विशेष ध्यान दिनुपर्ने कोइरालाको सुझाव छ ।

कोइरालाले कम्तिमा आगामी पाँच वर्षसम्मकोलागि स्थानीय तथा प्रदेश सरकारलाईपनि केन्द्रबाटै बजेट बिनियोजन गर्नुपर्ने बाध्यता रहेकोले सरकारले त्यसमा विशेष ध्यान दिनुपर्ने बताए ।

पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले अर्थमन्त्रीले जारी गरेको श्वेतपत्रमा राज्यको ढुकुटी नै रित्तियो भनेर हल्ला भएकोले जनतामा एक किसिमको आशंका पैदा भैरहेको बेलामा केन्द्रीय तथ्यांक विभागले प्रति व्यक्ति आम्दानी एक लाख प्लस हुने भनेपछि केही आशा जगाएको बताए ।

क्षेत्रीले मुलुक संघीय प्रणालीमा गएकोले केन्द्रीय बजेटको ५० प्रतिशत प्रदेश तथा स्थानीय तहमा पुग्ने बताए । उनले थपे, ‘अहिले प्रदेश र स्थानीय तहमा धमाधम बजेट बनिरहेका छन् ।’ यो आर्थिक वर्षमा करिब १५ खर्बको हाराहारीमा बजेट आउने उनले जनाए ।

उनले भारत र चीन दुवै मित्रराष्ट्रसँग नेपालले फाईदा लिन सक्नुपर्ने बताए । क्षेत्रीले भने, ‘चीनले हाम्रा सरकार प्रमुखहरुसँगको भेटवार्तामा तपाईहरु भारतसँग सम्बन्ध सुमधुर बनाउनुहोस्, हामी खुल्ला दिलले सहयोग गर्छौ भन्ने गरेको छ ।’ भारतले नेपालको विकासमा सहयोग पुर्याउने भन्दै बोलेका कुराहरू र बाचाहरू अहिलेसम्म पूरा नगरेको उनको गुनासो थियो ।

उनले थपे,‘मोदीले एक खर्ब दिन्छु भन्नुभयो, तर अहिलेसम्म एक डलर पनि आएको छैन, भारतले चाहिनेभन्दा बढि नै बोल्ने गरेको छ, तर बोलेका कुरा पूरा गरेन, यो दुःखको कुरा हो।’ नेपालले दुवै छिमेकीसँग पञ्चशीलका आधारमा सम्बन्ध कायम गर्नुपर्ने उनको सुझाव थियो ।

212 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank