तीन वर्षमा ४४ हजार भूकम्प

शुक्रबार, असार १५, २०७५



बिहीवार बिहान ९:५२ बजेको थियो। दौडधूपको बेला। काठमाण्डू उपत्यकालगायत मध्यनेपालका धेरै स्थानमा एक छिन मानिसहरू चनाखा भए। किनभने तीन वर्षअघिको घटना सम्झाउने गरी भूकम्पले केही समय हल्लाएको थियो।

वीवीसी नेपाली सेवाका अनुसार केही बेर खैलाबैला भयो र सामाजिक सञ्जालमा पनि भूकम्पकै चर्चा भएको देखियो।

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले सो भूकम्पको केन्द्रविन्दु धादिङमा रहेको र त्यो ५.० लोकल म्याग्निट्युडको भएको जनाएको छ। अर्थात् त्यो मध्यमवर्गको भूकम्प थियो।

केन्द्रले उपलब्ध गराएको अक्षांश र देशान्तरले केन्द्रविन्दु भने काठमाण्डूसँग जोडिएको धादिङ जिल्लाको कुमपुर र नीलकण्ठको बीचतिर पर्ने भागमा रहेको देखिन्छ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सो भूकम्प तीन वर्ष दुई महिनाअघि गएको ठूलो भूकम्पको शृङ्खलाकै परकम्प भएको बताएका छन्।

हजारौँ परकम्प

धादिङमै दुई दिनअघि अर्थात् असार १२ गते बिहान २:३० बजे लोकल म्याग्निट्युड ३.८ भएको सानो भूकम्प रेकर्ड भएको थियो। गोरखा भूकम्पको त्रिवार्षिकीपछि पनि धादिङ, गोरखा र दोलखा केन्द्रविन्दु भएर केही परकम्प रेकर्ड भएका छन्।

अर्थात् तीन वर्षपछि पनि परकम्पहरू गइराखेका छन्।

भत्केको धरहरा

अधिकारी भन्छन्, “गोरखा केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पपछि ४४ हजारभन्दा बढी परकम्प गइसकेका छन्।”

तर ताप्लेजुङमा असार ६ गते बिहान गएका दुईवटा भूकम्प र जेठमा दार्चुला, बाजुरा एवम् दैलेखमा गएका भूकम्पको भने गोरखा भूकम्पको शृङ्खलासँग सीधा सम्बन्ध नभएको उनी बताउँछन्।

परकम्प कहिलेसम्म?

वैज्ञानिकहरूका अनुसार ठूलो भूकम्प गएपछि अरू भूकम्प जानु स्वाभाविक हो। ठूलो भूकम्पकै कारण जाने भएकाले र त्यसलाई पछ्याउने हुनाले तिनलाई ‘आफ्टर्शक्’ अर्थात् परकम्प भनिन्छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले वैशाख १२, २०७२ को भूकम्प लोकल म्याग्निट्यडमा ७.६ रहेको बताएको छ भने अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले अलिक भिन्न पद्धति अनुसरण गरेर ७.८ म्याग्निट्युडको रहेको मानेको छ।

सो भूकम्पबारे गरिएका अध्ययनमा संलग्न भएकी यूएसजीएसकी वैज्ञानिक सुजन हफका अनुसार आधुनिक डेटा उपलब्ध भएका हुनाले गोरखा भूकम्पबारे बुझ्न विस्तृत अध्ययनहरू हुँदैछन्।

“वास्तवमा हामी परकम्पको सङ्ख्याबारे केही पूर्वानुमान गर्नसक्छौँ। किनभने तिनका केही निश्चित आचरण हुन्छन्,” हफ भन्छिन्।

“तर बिस्तारै तिनको सङ्ख्या घट्छ। समय बित्दै जाँदा थोरै परकम्प महसुस हुन्छ। ठूला परकम्प पनि कम हुँदै जान्छन्।”

‘गोरखा भूकम्प शृङ्खला’बारे नै विद्यावारिधि गर्दै गरेका केन्द्रका प्रमुख लोकविजय अधिकारी पहिलो एक वर्षमै ३० हजारभन्दा बढी परकम्प गएको बताउँछन्। सुजन हफका अनुसार ठूलो भूकम्प गएको १० वर्षसम्म परकम्प गइराख्न सक्छ।

220 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank