द्वन्द्वपीडितमैत्री कानुन नहुँदा समस्या

बिहिबार, माघ २, २०७६



त्यतिबेला बर्दिया राजापुरकी रविना चौधरी भर्खर १७ वर्षमा टेक्दै थिइन्। आमाबुवाले १६ वर्षमै बिहे गरिदिए। बिहे भएको एक वर्ष नबित्दै २०५८ सालमा उनका पति क्रिमकुमार चौधरीलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरी बेपत्ता बनायो। प्रहरीले पक्राउ गर्दा २० वर्षमा हिँड्दै गरेका चौधरी नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा १२ कक्षामा पढ्थे ।

पक्राउ गरिएपछि उनलाई कहाँ लगियो, के गरियो र अवस्था के छ रु यिनै प्रश्नको जवाफ खोज्दै रविनाको १७ वर्ष बितेको छ। तर उनले जवाफ पाएकी छैनन्। उनी अहिले पनि एक्लै न्यायको खोजीमा छन्। कलिलो उमेरमै पतिको सानिध्यबाट टाढिएकी उनलाई परिवारले पनि एक्ल्याउँदै गयो।

उनका पति बेपत्ता भएको पाँच वर्षपछि तत्कालीन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भयो। दुवै पक्षको समझदारीमा द्वन्द्वका बेला बेपत्ता पारिएकाको खोजी गरी अवस्था सार्वजनिक गर्ने उद्घोष गरियो। तर रविनाले अहिलेसम्म न पति पाएकी छन् न शव।

शान्ति सम्झौतायता उनी सरकारी निकाय, संघसंस्था र द्वन्द्वपीडितका नाममा हुने हरेक कार्यक्रममा पुगेकी छन्। संघ र प्रदेश सरकारले सोमबार बुटवलमा आयोजना गरेको बेपत्ता परिवारसम्बन्धी ऐन संशोधन परामर्श कार्यक्रममा पनि उनले पतिको अवस्था खुलाइदिन भनिन्।

‘अब पनि हामी कतिन्जेल बेनामे भएर बाँच्ने रु कतिन्जेल दोसाँधको जिन्दगी जिउने ?’ रविनाले कार्यक्रममा उपस्थित मन्त्री, सांसदलाई प्रश्न गरिन्, ‘मलाई मेरो श्रीमान्का बारेमा जान्ने अधिकार छ कि छैन ?’ रविनाजस्तै पीडित छिन् बर्दियाको बारबर्दिया नगरपालिका–१ की देवीसरा वली पनि। बेपत्ता पारिएका उनका पतिको अवस्था पनि अहिलेसम्म खुल्न सकेको छैन।

खेतीकिसानीबाट परिवारको गुजारा चलाउँदै आएका उनका पतिलाई २०५९ पुस ९ गते भुरीगाउँबाट प्रहरीले पक्राउ गरेको थियो। १९ गतेसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका उनका पतिलाई त्यसपछि कहाँ लगियो र अवस्था के छ भन्ने खुल्न सकेको छैन।

नेपालको कानुनमा पति वा पत्नी १२ वर्षसम्म हराए वा सम्पर्कमा नआए उनीहरूका नाममा रहेको सम्पत्ति कवालाको नाममा नामसारी गर्न सक्ने व्यवस्था छ । तर बेपत्ता परिवारको हकमा भने यो व्यवस्था आकर्षित छैन। पीडितले बेपत्ताका नाममा पीडितलाई बन्धक बनाउने काम सरकारले नै गरेको गुनासो गरे। नागरिक दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments