वीपीको पत्रले साथ पाएकी दुर्गालाई जगदीशको विदाईले एक्लो बनायो

विद्रोह, शालिनता र समाजसेवा

सोमवार, असार ५, २०७४

- आस्था शर्मा



६६ वर्षीया दुर्गा घिमिरे हिजोआज स्वास्थ्यप्रति निकै सजग छिन् , बिहान सबेरै एकघण्टा हिड्छिन् । व्यायाम गर्छिन् । पूजापाठमा केही समय खर्चिन्छिन् । साताको तीन दिन मात्रै काठमाडौं जडिबुटीस्थित एबीसी नेपालको कार्यालय पुग्छिन् । अन्य दिन आफू संलग्न अरु संघसंस्थालाई समय दिने गरेकी छिन् । उनलाई शक्ति, धैर्यता र निरन्तरताको पर्याय भनेपनि हुन्छ । सबै विषयलाई सकारात्मक कोणबाट विश्लेषण गर्ने उनी पछिल्लो समय मधुमेह र हाड जोर्नी दुख्ने समस्यालाई झेलिरहेकी छिन् ।

किताबमात्रै होइन समाज पढ्छिन्
दुर्गा जन्मिए लगत्तै उनका बाबुले बसाइँ सर्ने निर्णय गरे, त्यसैले धरानमा जन्मिएकी उनी विराटनगरमा हुर्किइन् । राधाकृष्ण माध्यमिक विद्यालयबाट उनले कक्षा सातसम्मको पढाई पुरा गरिन् । दुर्गा दाहिने हातले लेख्न सक्दिन थिइन् । देब्रे हात चल्थ्यो । शिक्षक दाहिने हातले लेख्न आदेश दिन्थे । ‘ म मरिगए दाहिने हातले लेख्न सक्दिन थे, मलाई गुरुहरुको आदेश मान्न निकै गाह्रो थियो ’ उनले भनिन् । दाहिने हातले नलेखेको भन्दै शिक्षकबाट पाएको यातना उनी व्याख्या गर्न सक्दिनन् । हात नै सुन्निने गरी धेरै पिटाइ खाएकी दुर्गाले आफ्नो बानी छोड्न सकिनन् । ‘अहिले सम्म पनि खाना खाने बाहेक सबै काम देब्रे हातले नै गर्छु ’ नचाहिदों दबाब अनावश्यक भएको उनले सुनाइन् । विराटनगरको आदर्श बालिका विद्यालयबाट एसएलसी पास गरेकी दुर्गाले विद्यालयमा किताबका कोरा पाठ मात्रै पढिनन् । त्यहाँ उनले समाज पढिन् । मुलुकको राजनीतिक अवस्था बारे राम्रोसँग जान्ने मौका पाइन् । विद्यालयका शिक्षक सामाजिक र राजनीतिक चेतनायुक्त भएकाले विद्यार्थीलाई उनीहरुले किताब मात्रै नपढाएको दुर्गा प्रष्ट पार्छिन् ।

छोरीका मार्गदर्शक आमा family
आफ्ना छोरीलाई कस्तो बनाउने ? यसमा निर्णायक भूमिका आमाकै हुने दुर्गाको अनुभवले बताउँंछ । दुर्गाकी आमा छोरीहरुलाई उनीहरुले चाहे जति पढाउन चाहन्थिन् । आमाले भनेको दुर्गा सम्झिन्छिन् , ‘मेरा छोरीहरुको शिक्षा नै मैले उनीहरुलाई दिने दाइजो हो , आमाले सधै यही भन्नु हुन्थ्यो ।’ उनको अनुभवले आमा नै छोरीका शिक्षक हुन् । आमाले भनेको दाइजो प्रशस्त पाएकोमा उनी दंगदास छिन् । महेन्द्र मोरड क्याम्पसबाट बी.ए पास गरेकी उनी आफूलाई भाग्यमानी ठान्छिन् । त्यो बेला छोरीले बीए , एम पढ्न पाउन ठूलो कुरा थियो । जीवनरुपी रथ चलाउन शिक्षा नै बलियो लौरो बनेकोमा उनी खुशी छिन् । महिलालाई बलियो बनाउने आधार नै शिक्षा हो , त्यसैले छोरीलाई शिक्षा दिन हिच्किचाउन नहुने उनको अनुभवले बताउँछ । छैठौ सन्तानको रुपमा जन्मिएकी दुर्गा सानै देखि दृढ र जोसिलो स्वभावकी थिइन् ।

घरभित्रको आन्दोलन गाह्रो
त्यत्तिखेरको समाजमा छोरीले पढ्न पाउनु नै ठूलो विषय थियो । त्यो समाजमा लागि लुकीछिपी राती राती आन्दोलन , मिटिड भन्दै हिड्न सह्य थिएन । विरोध कार्यक्रममा संलग्न नहुन आमाबाबुले धेरै पटक सम्झाएको उनी सम्झिन्छिन् । ‘यो बाटोमा नलाग , जिउज्यान नै खतरामा हुन्छ , ठूल्ठूला नेताले त पल्टाउन नसकेको सत्ता तिमीहरुले पल्टाउन सक्दैनौ’ भन्दै अभिभावकले सम्झाएको उनको मानसपटलमा ताजै छ । धेरै पटक त उनले बाबुआमालाई चुपचाप सुनिन् । कुनै एक पटक उनको आवेश थामिएन । आफूले त्यत्तिखेर आमाबाबुलाई यस्तो जवाफ फर्काएकी थिइन्, ‘तपाइँहरुको सातजना छोरी छन् , म एउटी छोरीलाई देशको निम्ति , स्वतन्त्रता समानता र न्यायप्राप्तिका निम्ति बलिदान दिनुहोस् । ’

२०२४ सालको प्रहरी दमनको प्रतिरोधमा संचालित विद्यार्थी आन्दोलनमा दुर्गा संलग्न थिइन । अन्दोलनलाई जिवित राख्न बनाएको समितिको मिटिड दिउँसो गर्नु संभव थिएन । राति लुकी लुकी गर्नु पथ्र्यो । बढेकी छोरी मिटिड भन्दै राती हिडेको परिवारलाई मन परेको थिएन । धेरै पटक त अभिभावकले आफूलाई कोठामै थुनेर राखेको दुर्गा सम्भिन्छिन् । भन्छिन् , ‘म छोरा भएको एक दुईवटा मात्रै प्रश्न झेले पुग्थ्यो होला , छोरी भएकाले मैले प्रश्नको जवाफ दिएर मात्रै पुगेन , बन्देज नै सहनु परयो ।’ आन्दोलनका नाममा उनी आमाबाबुको संवेदनशीलतामा चोट पुर्याउन चाहन्न थिइन् । आमाबाबुको मन राख्दै काम गरेकी थिइन् । छोरी भएकै कारण दुर्गा दुईवटा आन्दोलनमा एकै पटक संलग्न भइन् । उनको अनुभवले भन्छ , घरबाहिरको भन्दा घरभित्रको आन्दोलन गाह्रो । पहिलो महिला स्वतन्त्रताको , दोस्रो प्रजातान्त्रिक स्वतन्त्रताको ।

पहिलो पटक थुनिदाँको अनुभव
त्यत्तिखेर साँंझको सात जति बजेको थियो । पाँच जना केटी मात्रै राखेर एउटा जीपलाई डिएसपी कार्यालय हनुमान ढोका पु¥याइयो । कार्यालयको पुरानो कोठामा दुई महिला प्रहरीको जिम्मामा उनीहरुलाई छोडिएको थियो । विराटनगर अंचलाधीश कार्यालयमा दिनभर बन्दी भएर बसेको अनुभवले दुर्गालाई केही सहज त भयो तर उनी ढुक्क भने हुन सकेकी थिइनन् । दुई घण्टापछि अर्को कोठामा सारेर केही चिउरा , एउटा पाउरोटी र चिया दिएका थिए त्यहाँका कर्मचारीले । त्यत्तिखेर उनीहरुलाई सुत्न दिएको कोठा कसैको कोठा जस्तो देखिन्थ्यो । कोठाको भित्तामा राष्टिय विभूतिका पोष्टर थिए । कोठा सानो थियो । दुई सेट टेबुल कुर्सी पनि थिए त्यहाँ । आधा रातसम्म पनि के ओढ्ने के ओछ्याउने टुंगो थिएन । उनले भनिन् , ‘आधा रातसम्म पनि केही नआएको देखेर एक इन्स्पेक्टरले स्टोरबाट दुइवटा कम्बल झिकेर ल्याइदिएका थिए । ’

दुर्गाले बिए पास गरेपछि उनका बाबुआमा छोरीको विवाह गर्न चाहन्थे । त्यसको मुख्य कारण थियो, छोरीको व्यवस्था विरोधी राजनीतिक सक्रियता । त्यत्तिखेर विराटनगरमा एम एको पढाइ हुदैन थियो । घर बाहिर राखेर छोरी पढाउने धृष्टता उनका बाबुआमा गर्न चाहदैन थिए । घर बाहिर हुँंदा राजनीतिक सक्रियता झन बढ्ने खतरा उनीहरुले औल्याएका थिए । ‘अब पढाई पुग्यो, बिहे गर्नुपर्छ ’भन्दै आमाले सम्झाउनु भयो । त्यत्तिखेर दुर्गाले नम्र भाषामा कडा प्रतिवाद गरिन् । ‘म अहिले सम्म कहिल्यै फेल भएकी छैन , राम्रो नम्बर ल्याएर बी ए पास गरे ,मैले पढाइ किन छाड्ने ?’ उनले धेरै जिद्दी गरिन् । उनको जिदीको अघि कसैको केही लागेन । कहि कतै संलग्न नहुने सर्तमा उनी काठमाडौं पढ्न आउने भइन् । बाबुआमासँगको प्रतिबद्धता अनुसार नै उनले पढाइमा तन र मन दुबै दिइन् । समयसँगसँगै दुर्गाले त्यो प्रतिबद्धता पुरा गर्न निकै कठिन महसुश गरिन , जतिखेर उनी त्रिभुवन विश्व विद्यालयको विद्यार्थी युनियनको निर्वाचनमा सहभागि भइन ।

विपीको चिठ्ठी प्रेरणा
जेलबाट दोस्रोपटक फर्केर आएपछि दुर्गाभित्र एक खालको औडाह उत्पन्न भयो । उनी काम गर्न चाहन्थिइन् । उनलाई काम दिने कोही थिएन । आमाबाबुको एउटै जोड थियो , ‘ छोरी अब तिमीले बिहे गर्नुपर्छ ।’ आमाबाबुको त्यो योजनालाई स्वीकार गरेर त्यसलाई संसार ठानेर बस्ने उनको इच्छा थिएन । जागिर ? सरकारी जागिर खान उनलाई पटक्कै मन थिएन । चाकडी र भनुसुनमा अडेको जागिर मंजुर थिएन । के गरौं कसो गरौ भइराखेको बेला बनारसबाट विपी कोइरालाले पठाएको चिठ्ठीले दुर्गालाई प्रेरणा दियो । पत्रको सार थियो , प्रतिकूल परिस्थितिमा तिमीले गरेको संघर्ष महत्वपूर्ण छ , मलाई राम्ररी थाहा छ , तिमीले संघर्षमा घर परिवारबाट सहयोग पाएकी छैन ,तिम्रो साहस महत्वपूर्ण छ , अबको दायित्व तिमीहरु जस्ता तन्नेरीमा छ । ‘ यो पत्र पाएपछि मेरो मन निकै हलुंगो भएको थियो, मेरो मुल्यांकन राम्रोसँंग भएको रहेछ ’ पुराना दिन सम्झने क्रममा दुर्गाले भनिन् ।

दुर्गाको जगदीशसँगको यात्रा jagdish
पहिलो भेट भएको तीन वर्षपछि जगदीशसँग विवाह गरेकी दुर्गालाई जगदीशले नै प्रेम प्रस्ताव राखेका थिए । त्यो प्रस्तावको उनले तत्काल जवाफ दिन सकिनन् । राजनीतिमा सक्रिय मान्छेको उनीसँग कसरी घरबार चल्ला भन्ने प्रश्न उनको मनमा खुबै मडारियो । पटक पटक जगदीशले चिठठी पठाएपछि दुर्गाले आफ्नो राजनीतिक सक्रियता , तीनपटक जेल परेको प्रंसग सुनाइन् । त्यत्तिखेर जगदीशले भनेको उनी सम्भन्छिन् ,‘तिम्रो ती सबै कुरा थाहा पाएर नै तिमीलाई यो प्रस्ताव राख्ने निर्णय गरेको हुँ ।’ उनको निर्णयले दुर्गाको मनमा श्रद्धा जाग्यो । त्यो निर्णय सुनेपछि उनले प्रस्ताव स्वीकार गरिन् । प्रस्ताव स्वीकार गरेको एक वर्षपछि विवाह गरेकी दुर्गा जगदीशलाई जीवनको वरदान ठानेकी छिन् । त्यसो त जगदीशले आफ्नो पुस्तक अन्र्तमनको यात्रामा लेखेका छन् , दुर्गा मेरो वरदान हो । राजनीतिमा सक्रिय दुर्गाले विवाहको वारेमा सोचेकै थिइनन् । बाबुले विवाहका लागि धेरै अनुरोध गर्दा उनले त्यसलाई इन्कार गरेकी थिइन् । आफूलाई बुझ्ने मानिस भेटे मात्रै विहे गर्ने निर्णय गरेकी दुर्गाले जगदीशसँग भेटेपछि सबै बिर्सिइन् । उनले भनिन् , ‘उहाँलाई भेटेपछि मैले उपयुक्त मान्छे भेटेको अनुभव गरे । ’

वैवाहिक जीवन राम्रो बनाउन एक अर्काबीच समझदारी हुनपर्ने बुभेकी दुर्गा र जगदीशबीच कहिल्यै राजनीतिका बारेमा विवाद भएन । जगदीशले उनलाई राजनीति गर्न भन्दा समाजसेवामा लाग्न प्रेरित गरे । उनी भन्थे , ‘दुर्गा तिमी समाजसेवा गर, म मिहेनत गरेर पैसा कमाउँछु । दश पाँचे सरकारी कामलाई पनि उनले कहिल्यै प्रेरित गरेनन् । मल्टिपल माइलोमा थलिएपछि जगदीशको मनमा दुर्गा राजनीतिमा हुनुपर्ने सोचाइ आएको रहेछ । उनले आफूलाई भनेका दुर्गा सम्झिन्छिन् , ‘तिमीले कानुन पनि पढेकी थियौ , संविधान बनाउने ठाउँमा तिम्रो आवश्यकता थियो । ’ ३१ सालमा वैवाहिक सम्बन्धमा बाँधिएकी दुर्गालाई त्यस दिन ठूलो बज्रपात भयो , जुन दिन जगदीशलाई मल्टिपल माइलोमा भएको उनले थाहा पाइन् । अक्लोहमा मेमोरियल फाउन्डेसनले तामाकोशी सेवा समितिलाई द्वन्दका बेला आशाका प्रतिबिम्ब जगाउने काम गरेको भन्दै पुरस्कार दिएको थियो । आशाको प्रतिबिम्ब नामक उक्त पुरस्कार लिन अमेरिका जाँदा जगदीशलाई त्यो रोग लागेको थाहा भएको थियो । उक्त समितिका संस्थापक दुर्गा र जगदीशले समिति मार्फत रामेछाप लगायत विभिन्न जिल्लामा विकासका काम गरेका छन् ।

एबीसीको शुभारम्भ
जगदीश दुर्गाका पति मात्रै थिएनन् । उनी हौसला र प्रेरणा समेत थिए । मर्निङवाकमा हिड्दा होस् वा घरमै बस्दा दुर्गा उनीसँग छलफल गर्थिन । नयाँ विषयमा भाषण गर्दा जगदीशसँग एकपटक छलफल गर्नै पथ्र्यो । लेख वा कविता उनलाई नसुनाए नुन विनाको तरकारी खाए झैं हुन्थ्यो । ‘ उहाँको अभाव शब्दमा व्यक्त गर्नै सक्दिन , म त एक्लिएकी छु ’ कहिले काहिं काममा दिक्क हुँदा दुर्गालाई सम्झाउँथे । कुनै समस्या परे दुर्गालाई कुन बेला सुनाउ जस्तो हुन्थ्यो । आफ्नो प्रगतिदेखि काम गर्दा देखिएका समस्या सुनाउँदा मात्रै पनि दुर्गा आफूलाई हलुंगो महसुश गर्थिन् । सामाजिक काम गर्न सधै प्रेरित गरिराख्ने जगदीशले चेलीबेटी बेचविखन विरुद्धको अभियानमा लागेपछि उनलाई थप सहयोग गरे । पति र छोराछोरी सहित देशमा विभिन्न जिल्ला घुम्न हिडेकी दुर्गाले थानकोट नजिकै बेचिएका दुई महिला देखिन् । महिला बेच्ने दलाललाई प्रहरीले पक्राउ गरेको थियो । त्यो घटना हेर्न त्यहाँ कुनै मेला लागे जस्तै भीड देखिन्थ्यो । जगदीशले मोटरबाट ओर्लेर दलालसहित ती बालिकाको फोटो खिचे । सामान्य सोधखोजपछि उनीहरु गन्तव्यतर्फ लागे ।

१५, १६ उमेरका लाग्ने ती बालिकाको अनुहारले दुर्गालाई जहाँ पुगेपनि झस्काइराख्यो । त्यस्ता महिलाका लागि केही गर्न उनको आत्माले घच्घचाइराख्यो । समाज सेवामा लाग्न प्रेरित गर्ने पतिलाई उनले मनभित्र उठेको हुट्हुटी सुनाइन् । सामाजिक सेवा समन्वय परिषद् अन्तर्गतको सामुदायिक सेवामा काम गर्दा बेचबिखनबाट प्रभावित भएका महिलाको पीडा उनले बुझिसकेकी थिइन् । ती महिलाकालागि काम गर्ने संस्थाको आवश्यकता महसुश भएको थियो । जगदीशले पनि बेचबिखन प्रभावित महिलाका मुद्दामा केन्द्रित भएर काम गर्न सकिने सल्लाह दिए । सल्लाहसँगसँगै संस्थाको नाम एबीसी नेपाल राख्न समेत सुझाव दिएको उनी सम्झिन्छिन् ।

३३ सालदेखि सामाजिक सेवामा लागेकी दुर्गाले २०४४ सालदेखि एबीसी नेपाल मार्फत हिंसा पीडित महिलाका लागि काम गरिराखेकी छिन् । ‘हिंसा पीडित महिलाका लागि फरक एप्रोर्चबाट काम गरिराखेका छौ ’ उनले विश्वविद्यालयका जागिर छोडेर समाज सेवामा लागेकी दुर्गाले भनिन् , ‘जुन काममा म अहिले छु त्यसले मलाई सन्तुष्टि दिएको छ , यस्तो सन्तुष्टि अन्य पेशामा भएको भए पाउन्न थिएन होला , मैले गरेको कामले जगदीशलाई पनि खुशी दिएको थियो । ’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments