सरकारले भन्यो–ढुकुटी रित्तियो, चुनौतीपूर्ण अवस्थामा अर्थतन्त्र

शुक्रबार, चैत्र १६, २०७४



काठमाडौं । सरकारले आफुसँगै पैसा सकिएको संसदलाई जानकारी गराएको छ । अर्थमन्त्री युवराज खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा देशको आर्थिक अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री खतिवडाले ढुकुटी रित्तिदै गरेकाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए ।

उनले अहिले अनौपचारिक अर्थतन्त्र मौलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए । कर्मचारीको प्रोत्साहनमा निरन्तर खर्च भइरहेको तर छुट्टै कोष नभएकोले पनि देशलाई घाटा भइरहेको बताए ।

पूँजी परिचालन उचित रूपमा हुन नसकेको जानकारी गराउँदै उनले भने ‘ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण पूरा हुन सकेका छैनन्, उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रम बढी देखिएका छन् ।’

सरकारले सन् २०२२ सम्म मुलुकलाई विकासशील राष्ट्रमा पु¥याउने लक्ष्य राखेको उल्लेख गर्दै उक्त लक्ष्य हासिल गर्न सबै पक्ष लाग्नुपर्ने देखिन्छ । रोजगारीमूलक र उत्पादनमूलक क्षेत्रको लगानी संकुचनसँगै थप चुनौती थपिएको बताउँदै अर्थमन्त्री डा खतिवडाले उद्योग क्षेत्र प्रतिस्पर्धी हुन नसकेको बताए ।

उनले भने ‘सरकारी लगानीका उद्योग घाटामा छन्, नेपालको श्रम बजारमा बेरोजगार बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा वित्तीय परिचालन आवश्यक रूपमा पुग्नसकेका छैनन् । तरलतामा चाप बढदै गएको छ ।’

पूँजी बजार धितोपत्रमा मात्र सीमित रहेको उल्लेख गर्दै उनले बैठकमा शेयर मूल्य प्रभावित भएको र समग्र अर्थतन्त्र आयातमुखी बनेको बताए । तयारी बिना बजेट विनियोजन गर्ने, आर्थिक वर्षको अन्तिम महिनामा विकासका काम गरेर खर्च गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले राष्ट्रसेवक कर्मचारीको निवृत्तीभरणमा धेरै लगानी भएको बताए ।

सार्वजनिक संस्थानमा सरकारले गरेको लगानीको मूल्य नपाएको भन्दै उनले सार्वजनिक संस्थानमा तलबभत्ता र अवकाशको रकम दिन बाँकी रहेको जानकारी गराए ।

विदेशीको नेपालप्रतिको सद्भाव रहेको भन्दै उनले सूचना प्रविधिको विकास गरी आर्थिक समृद्धि गर्न सकिने धारणा व्यक्त गरे ।

प्रजातन्त्र र शहीद दिवस बिदा कटौतीको विरोध
प्रतिनिधिसभा सदस्यले फागुन ७ गते प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको बिदा कटौतीको विरोध गर्दै तत्काल सो निर्णय फिर्ता लिन सरकारसंग माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले प्रजातन्त्र स्थापना भएको दिन र जनताका अधिकारका लागि सहादत प्राप्त गरेको शहीदको स्मरण गर्ने दिनको बिदा सरकारले कटौती गरेकामा आपत्ति जनाउँदै तत्काल फिर्ता गर्न माग गरे ।

बडूले दार्चुलाको सिमानामा भारतीय पक्षबाट एकपक्षीय रुपमा बनाइएका पुलको विषयलाई लिएर तनावग्रस्त अवस्था भएको भन्दै समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

सांसद हृदयेस त्रिपाठीले किसानले आफ्नो उत्पादनको मूल्य आफैँले तय गर्न नपाएको अवगत गराउँदै उखु किसानले हालसम्म रु ११ अर्ब पाउन बाँकी रहेकाले यसमा सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।

नेकपा माओवादी केन्दका प्रभु साहले तराईमा बाढीपीडित जनताका समस्या यथावत् रहको भन्दै तत्काल पुनःस्थापना र दीर्घकालीन राहतको माग गरे ।

उनले आगामी वर्षामा आउन सक्ने बाढीको सम्बन्धमा सचेत हुनुपर्नेमा जोड दिदैं प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको एजेण्डाका सम्बन्धमा संसद्लाई जानकारी गराउनुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले रौतहटमा असिनाबाट भएको क्षतिका बारेमा जानकारी गराउँदै तत्काल राहत व्यवस्थाको माग गरे । उनले जनताका भावनासंग गाँसिएका सार्वजनिक बिदा कटौतीको विरोध गर्दै बिदामा कटौती गरेर मात्र काममा प्रगति नहुने धारणा व्यक्त गरे ।

संघीय समाजवादी फोरम नेपालका विमलप्रसाद श्रीवास्तावले सरकारबाट दलितको घर बनाउने भनेर बजेट निकासा भए पनि पूरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले नेपाली नागरिकलाई जहाँ बसे पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गर्दै विदेशमा बस्ने करीब ४० लाख नेपालीलाई विदेशबाट मतदानको व्यवस्था गर्नुपर्ने उल्लेख गरिन् ।

एमालेका राजेन्द्रप्रसाद गौतमले संखुवासभामा भएको जिप दुर्घटनाको जानकारी गराउँदै दुर्घटनामा निधन भएकाको सम्मानसहित उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।

काँग्रेसका जीवछिरिङ लामाले भूकम्पपीडितका घर दु्रत गतिमा निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

माओवादी केन्द्रका गजेन्द्र महतले जुम्लामा अस्पताल भए पनि डाक्टर नभएको र सडक भए पनि यातायातको व्यवस्था नभएको भन्दै आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

154 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank