मोदीको भव्य स्वागत गर्छौं, विरोध गर्नुको कुनै तुक छैन : डा. भट्टराई

बिहिबार, बैशाख २७, २०७५



काठमाडौ । सत्तारुढ दल नेकपा एमालेका नेता, नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहका नेपाल तर्फका सदस्य एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौं दुई ठाउँमा नागरिक अभिनन्दन गर्ने बताएका छन् ।

डा.  भट्टराईले कसैले विरोध गर्नुको तुक नभएको स्पष्ट पारेका छन् । उनले भने,‘मोदीजीलाई हामी भव्य स्वागत गर्छौं।’  बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले मोदी भ्रमणको सबै किसिमका तयारीहरु पूरा भैसकेको जनाए । उनले भने,‘मोदीजीको भ्रमणको लागि सबै किसिमको तयारी पूरा भयो, भ्रमण पहिलाको जस्तो परम्परागत होईन, यो पटकको भ्रमण पृथक छ, त्यसैले भ्रमणलाई लिएर क्रिया तथा प्रतिक्रिया आउनु स्वभाविक हो ।’

नेता भट्टराईले नेपालका तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल भारत भ्रमणमा जाँदा पनि भव्य अभिनन्दन भएको स्मरण गराउँदै भने,‘सन् २००९ मा माधव नेपाललाई दिल्लीमा भव्य नागरिक अभिनन्दन भएको हो, सन् २०१६ मा हाम्रो प्रधानमन्त्री ओली भारत जाँदा गुजरातको हजमा र दिल्लीमा दुई ठाउँमा अभिनन्दन गरिएको थियो, यसपटक पनि हाम्रो प्रधानमन्त्रीलाई उत्तराखण्डमा पनि त्यही किसिमको नागरिक सम्मान भएको थियो ।’

‘यो हाम्रो परम्परा हो, १९५१ सालमा भारतका प्रधानमन्त्री जवारलाल नेहरु आउँदा टुँडिखेलमा नागरिक अभिनन्दन गरिएको थियो,’ डा. भट्टराईले भने, ‘विदेशी विशिष्ठ पाहुना आउँदा नागरिक अभिनन्दन गर्नु परम्परा नै हो। हाम्रा प्रधानमन्त्री भारत जाँदा पनि त्यहाँ ठाँउ–ठाँउमा नागरिक अभिनन्दन हुन्छ।’

उनले मोदीलाई नगरको साँचो बुझाउन लागेको भन्दै विरोध हुनु जायज नभएको बताए। ‘नगरको साँचो बुझाउँदै छ भनेर विरोध भइरहेको छ । यो पनि हाम्रो परम्परा हो,’ उनले भने, ‘हामी सानै हुँदादेखि नै सुन्दै आएका हौँ साँचो बुझाउने कुरा।’

भट्टराईले थपे,‘स्न २०१३ मा अमेरिकी राष्ट्रपति बराक ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको बेला चीनीयाँ राष्ट्रपति पनि वासिङटन नगई क्यालिफोर्निया जानुभएको थियो, त्यस्तै सि जिनपिङ पनि गुजरात जानुभएको हो, पछिल्लो समय मोदी बेईजिङ नगई चीनको केन्द्रिय शहर हुआनमा जानुभयो, भर्खरै ईजरायली प्रधानमन्त्री नयाँ दिल्ली नआई मुम्बई आउनुभयो, यो परम्परा अहिले सुरु भएको छ, मोदीजीले पनि नेपालमा आउँदा जनकपुर र मुक्तिनाथ भ्रमणमा जाने ईच्छा व्यक्त यस अघिपनि गर्नुभएको थियो, त्यसैले उहाँ अहिले जनकपुरबाट नेपालको भ्रमण सुरु गर्दैहुनुहुन्छ।’

आफूहरु अहिले १९५० को अवस्थामा नरहेको बताउँदै आधुनिक युगमा सबै किसिमका असहमतिहरुलाई सहमतिका साथ अघि बढ्नुपर्ने बताउँदै उनले भने,‘विगतका कुराहरु बोकेर अब चिन्ता गर्नुहुँदैन, हाम्रो अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा जुन किसिमका अडानहरु लिनुभयो, आजपनि उहाँ त्यही अडानमा हुनुहुन्छ, हाम्रो मान्यता भनेको सम्बन्ध राम्रो र फराकिलो बनाउनुपर्छ, सहकायैका क्षेत्रहरु पहिचान गर्नुपर्छ।’

98 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank