डीपीएलको पुरस्कार राशी २० प्रतिशत बढाइयो

बिहिबार, माघ २४, २०७५

- पदम राज भट्ट



धनगढी । धनगढी प्रिमियर लिग डीपीएल तेस्रो संस्करणको पुरस्कार राशी बर्ष भन्दा २० प्रतिशत बढेको छ । प्रतियोगिताको कुल पुरुस्कार राशी यस वर्ष ६० लाख पुगेको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले आज फाप्ला मैदानमा पत्रकार सम्मेलन गरी पुरस्कार राशी सार्वजनिक गरेको हो । गतवर्ष दोस्रो संस्करणको विजेतालाई २५ लाख रुपैया पुरस्कार दिइएको थियो । यसवर्षको विजेताले ३० लाख नगद रुपैया पुरस्कार पाउने एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।

यसैगरी, उपविजेताले १२ लाख, तेस्रो हुने टोलीले चार लाख र चौथो हुने टोलीले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने अध्यक्ष शाहीले बताए । प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्डस्टारले सुनको जुत्ता र हरेक खेलका म्यान अफ द म्याचलाई १५ हजार तथा छक्का क्याच गर्ने दर्शकलाई १० हजार रुपैया पुरस्कार दिइने अध्यक्ष शाहीले जानकारी दिए ।

करिब ५ करोड खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता माघ २६ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु हुने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आई सि सि बाट मान्यता प्राप्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागी ५ हजार दर्शक क्षमताको अस्थाई प्याराफिट निर्माण गरिएको छ भने ५ वटा पिच तयार पारिएको अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० तोकिएको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्रा्िष्ट्रय निर्माण अभियान ९ड्रिम फाप्ला० लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ ।

दर्शकको सुविधालाई मध्यनजर राख्दै सुदूरपश्चिम यातायात व्यवसायी संघ, कर्णाली रिभर यातायात संघ र धनगढी उपमहानगरपालिकाको सहयोगमा दैनिक क्याम्पस रोडदेखि फाप्ला क्रिकेट मैदानसम्म निशुल्क बस सेवाको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाइसी अत्तरिया, काठमाण्डौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता हुँदैछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata