दोस्ताज, बूढो, भुत र भविष्य

शनिबार, जेष्ठ १८, २०७६



“दोस्ताज, बूढो, भुत र भविष्य”

अचानक ! ढोका ढकढक भयो । मोबाईलसँग जिस्किरहेको थिए ।  घडी हेर्नै मौका पाए । ठिक १०:५३ बजिसकेको थियो । रातमा को हो नचिनेर ढोका खोल्नु राम्रो होइन । तसर्थ मैले मान्छे नचिनी ढोका खोल्न उचित ठानिन । एक पटक एक गुरुले भन्नू भएको कुरा दिमागमा आईहाल्यो ।  यदी तपाईं बन्द कोठामा एक्लै बसिरहनु भएको छ भने जुनसुकै समयमा यो पृथ्वीबाट जुनसुकै मान्छे तपाईको ढोका ढकढक गर्न आईपुग्न सक्छ । त्यसैले मान्छे चिनेर मात्र ढोका खोल्नुहोला ।’

झसङ्ग । -झस्किए । पुन: ढोका ढकढक भयो । मैले यता म्युजिकको ध्वनि बढाईदिए । बारबार ढोका ढकढक भइरहदा मैले सोधिहाले -को हो?

केही आवाज आएन पुनः म चिच्याए -हु द हेल यु आर?

-तिमी…..। (यो आवाज ढोका बाहिरबाट आएको थियो।)

ढोका खोल्न भन्दा अगाडि मैले झ्याल खोली हेरे । मेरो उमेरको २२ गुना ४ अवधी नाघिसकेको जस्तो देखिने बूढो उमेर मेरो ढोका अगाडि उभिरहेको थियो ।

#

ढोका खोले ।

दैनिकी ।

जब १०:५३ बजिसक्थ्यो।  बूढो मेरो ढोका ढकढक गर्न आइ पुगिहाल्थ्यो । म ढोका खोल्थे । बूढो र म रमको स्वादमा दम भएका गफ उडाई हास्थ्यौ ।

#

दिनहरु बित्दै गए । बूढो झनझन तरुनो हुँदै गयो । जुन दृश्यले मेरा दिमागका तारहरु जुधिरहन थाले ।-धेरैजसो । सधैजसो ।

#

एकदिनको कुरा हो । बुढोले गम्भीर भएर मलाई एक प्रश्न सोध्यो -तिमीले भविष्य देखेका छौ?

-अह!छैन । -मैले जवाफ दिए ।

-उसो भए मलाई हेर । चित्त बुझाउ । -बूढो एकलट फ्रेन्च हासो हास्यो।

फेरि उसले प्रश्न थप्यो – अनि भुत ?

-भुत भुतमा सिमीत छ । -मैले जवाफ दिए ।

-मैले त भुत पनि देखिरहेछु । आखै अगाडि । यतिबेला नै । -पुनः बुढो एकलट फ्रेन्च हासो हास्यो।

#

बिहान उठ्दा बूढो थिएन । रममा दम बढी भएर होला । हिजो राती ढलेको पत्तै पाईन रातभर के केगरियो ? बुढोसँग के के बोलियो ?  अहँ ! केही थाह छैन ।

#

त्यसपश्चातका दिनहरुमा बूढो यहाँ आउन छोड्यो ।

दुई दिनपछि  ।

एउटा फुच्चेले एउटा रोडमा हिडिरहदा एउटा चिठ्ठी उसले मेरो दुईवटा हातमा थमाईदियो । जुन चिठ्ठीमा लेखिएको थियो, ‘दोस्ताज !

अबको ३३ वर्षसम्म तिमी आफ्नो जिन्दगी बाच ।

म आफ्नो जिन्दगी बाच्छु ।

हामी ३३ वर्षपछी यहीँ कोठामा भेट्नेछौ ।

५५ वर्ष पुगेको शुभ जन्मदिन मनाउन ।  गुडबाई ।’

#

जुन चिट्ठीले झस्काईरह्यो मलाई । बेलाबखत ।  झस्किरहे म । सेकेन्ड-सेकेन्ड।

#

माईक्रोसेकेन्ड

माईक्रोमिनेट

हाफ आओर

घन्टौ हुँदै वर्षौ बित्दै गयो।

#

आज मिति  विक्रम संवत् २१०८ साल पुस २५ गते ।  मेरो जन्मदिन । त्यसैले बुढी र दुईटी छोरीसँग खुसीउत्सोव मनाए । र दिउसै म यो गाउँ  छिरे ।

यो ठाउँ

यो घर

मलाई मैले बाचिरहेको

जिवनभन्दा अमुल्य लाग्छ । प्यारो लाग्छ।

#

अक्सर बुढोले छोडेर गएपश्चात् म मेरो हरेक जन्मदिनमा एक्लै यो घरमा बस्ने गर्दछु । आज पनि मेरो शुभ जन्मोदिन ।खुशी त मनाउनै पर्यो हैन?

#

‘ढक ! ढक ! ढकढक !’ ढोका ढकढक भयो । घडी हेरे १०:५३ बजिसकेको थियो ।  पक्कै त्यही बूढो हुनपर्छ । झ्याल खोली हेरे । झसङ्ग भए । -झस्किए । किनभने एउटा म झ्यालबाट हेरिरहेको थिए । अनि एउटा म ढोका ढकढक गरिरहेको थिए ।

मैले आफुलाई बुझ्न पाईन । अहँ !बुझ्नै सकिन ।

तसर्थ म झ्यालबाट हेरिरहे ।

तसर्थ म ढोका ढकढक गरिरहे ।

सक्कली म चाहिँ म कुन म थिए ?

ढोका ढकढक गरिरहेको म ?

या झ्यालबाट हेरिरहेको म? खै ? -बुझ्नै सकिएन ।

#

मेरो दिमाग भुततिर दौडियो।  दिमागले त्यो दिन सम्झियो । जुनदिन बूढो र म पहिलोपटक रम पिउदै म्याथम्याटिक्स गफ हानिरहेका थियौ ।

त्यो बेला बूढो सहि रहेछ । बुढोले लेखेको त्यो म्याथम्याटिक्स पेज झलझली आँखा अगाडि घुम्यो।

(दोस्ताज !

यतिबेला तिमी २२ वर्ष र म ८८ वर्ष अर्थात तिमीले सोचेजस्तै तिम्रो उमेरको २२ गुना ४ मेरो उमेर ।

३३ वर्षपछी तिम्रो उमेर २२+३३=५५ वर्ष हुनेछ ।

मेरो उमेर ८८-३३=५५ वर्ष नै हुनेछ ।

तिमी ढुक्क हौ । मेरो म्याथम्याटिक्स गलत हुनेछैन । )

– महेश बजगाई

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata