चिकित्सकपिच्छे फरक फरक रोगको फरक फरक औषधि, बिरामी रनभुल्लमा

मङ्लबार, असार १०, २०७६



२४ वर्षीय रविन भण्डारी छाती दुख्ने समस्या भएपछि काठमाडौंस्थित एक अस्पतालमा पुगे । उनलाई ‘चेस्ट पेन’ भएको भन्दै चिकित्सकले औषधि खान सल्लाह दिए ।

उनले चिकित्सककै सल्लाहअनुसार औषधि सेवन गरे । तर, सन्चो भएन । त्यसपछि उनी अर्को अस्पतालमा गए । त्यहाँ छातीको एक्सरे गराए । ईसीजी पनि गराए । चिकित्सकले एक महिनापछि आउनु भन्दै केही औषधि पनि दिए ।

छातीको दाहिने भाग थेग्नै नसक्ने गरी दुखेपछि २७ वर्षीय सीताराम केसी कीर्तिपुरस्थित एक अस्पताल पुगे । त्यहाँ उनलाई डिप्रेसनको लक्षण भएको बताइयो । केही औषधि खान भनेर सूची पनि दिइयो । सो अस्पतालका चिकित्सकप्रति विश्वास नलागेपछि उनी अर्काे अस्पताल पुगे । त्यहाँ उनलाई छातीको नसामा समस्या रहेको बताइयो ।

अहिले अधिकांश बिरामीले एउटै अस्पताल र चिकित्सकको स्वास्थ्य जाँचको विश्वसनीयतामाथि प्रश्न उठाउन थालेका छन् । एउटा चिकित्सकलाई देखाएको केही समयभित्रै बिरामी अर्काे चिकित्सकलाई पनि देखाउन पुग्ने गरेका छन् । तर, चिकित्सकले फरक फरक रोग र फरक फरक औषधि दिँदा बिरामी नै रनभुल्लमा पर्ने गरेका छन् ।

चिकित्सकपिच्छे औषधि फरक फरक उपलब्ध हुँदा बिरामीले जथाभावी औषधि सेवन गर्ने गरेको पाइएको छ ।
भण्डारी भन्छन्, ‘स्वास्थ्य जाँचपछि चिकित्सकले केही भएको छैन । यति औषधि खाएर एक महिनापछि आउनुहोस्, सन्चो हुन्छ भने । तर, अर्काे अस्पतालका चिकित्सकले दिएका औषधि फरक फरक छन् । कुन औषधि खाने–नखाने दोधारमा छु ।’

चिकित्सकपिच्छे फरक फरक औषधि दिइने भएकाले बिरामी थरीथरीका औषधि सेवन गर्ने गरेको देखिएको छ । डायग्नोसिस नबन्दा रोगको पहिचान नहुने भन्दै चिकित्सकको सल्लाह फरक फरक हुने गरेको पाइएको छ । बिरामीको ‘इभिडियन्स बेस डायग्नोसिस’ नहुँदा विभिन्न उपचार विधि प्रयोग गर्न बाध्य भएकोे चिकित्सक बताउँछन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata