मर्म र भावना बुझेर काम गर्न अनुसन्धान अधिकृतहरूलाई अख्तियार सचिवको निर्देशन

बुधबार, चैत्र ७, २०७४



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा. राजन खनालले आयोगको काम अनुसन्धानमुखी भएकाले आयोगमा परेका उजुरीका विषयमा सत्यता प्राप्त गर्ने गरी अनुसन्धान गर्न अनुसन्धान अधिकृतहरुलाई निर्देशन दिएका छन् । आयोगमा सरुवा भई आएका अनुसन्धान अधिकृत तथा अन्य तहका कर्मचारीहरुलाई दिइएको अनुसन्धान सम्वन्धी अभिमुखीकरण तालिमका सहभागीहरुलाई बुधवार आयोगको केन्द्रीय कार्यालयमा निर्देशन दिँदै खनालले अन्य निकायको भन्दा आयोगको कार्य गम्भीर र जटिल भएकाले यसको मर्म र भावना बुझेर काम गर्न निर्देशन दिए ।

उनले आयोगमा अनुसन्धान अधिकृतहरुले गरेको अनुसन्धानको पनि अनुसन्धान हुने हुनाले आफूले गरेको कामको पुनः अनुसन्धान गर्ने अवस्था नआओस भन्ने तर्फ सचेत भइ ऐन नियम र कानुनी दस्तावेजहरुको समेत राम्रोसँग अध्ययन गरेर कार्य सम्पादन गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

सचिव खनालले तालिमबाट विभिन्न तहका कर्मचारीलाई आ– आफ्ना विषयमा दक्षता प्राप्त गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । तीन दिनसम्म सञ्चालन हुने उक्त अभिमुखीकरण कार्यक्रममा आयोगको गठन, सांगठनिक स्वरुप,काम, कर्तव्य र अधिकार तथा आयोगको पदाधिकारी र कर्मचारीको आचार संहिता विषयमा सहसचिव कालीप्रसाद पराजुली, प्रारम्भिक र विस्तृत अनुसन्धान प्रक्रिया विषयमा सहन्यायाधिवक्ता शंकर खत्री, अनुसन्धान प्रतिवेदन तयारी र निर्णय तथा अभियोजन पत्र लेखन सम्वन्धमा सहन्यायाधिवक्ता हरिप्रसाद जोशी, अनुसन्धान सम्वन्धी सूचना संकलन, सम्प्रेषण, सूचना प्रसारण विषयमा सहसचिव दीर्घराज मैनाली र सार्वजनिक खरिद अनुसन्धान सम्वन्धी सु ई रविन्द्रनाथ श्रेष्ठले प्रशिक्षण दिनेछन् ।

त्यसैगरी सहसचिव बालकृष्ण घिमिरेले कार्यस्थलमा हुने तनाव व्यवस्थापन विषयमा , सहन्यायाधिवक्ता मुरारीप्रसाद पौडेलले अभियोजन गर्दा देखिएका समस्या र सुधारका उपायहरु विषयमा, सहसचिव विष्णुप्रसाद पोखरेलले उजुरी उपरका समग्र चरणका विषयमा र प्रहरी नायव महानिरीक्षक उत्तमकुमार कार्कीले प्रस्तुती कलाका विषयमा प्रशिक्षण दिनुका साथै आयोगको सूचना संकलन र अन्य प्राविधिक विषयमा जानकारी गराइने छ । तालिममा विभिन्न तहका कर्मचारी र अनुसन्धान अधिकृत गरी ३४ जनाको सहभागिता छ ।

238 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank