दीपक मनाङे पक्राउ

बिहिबार, माघ ९, २०७६



पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) कुटपिट अभियोगमा पक्राउ परेका छन् । उनी पोखराको लेकसाइडबाट  पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।

प्रवक्ता केसीका अनुसार उनलाई कास्कीका एन्फा अध्यक्ष मिलन गुरुङले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो । हाल सांसद मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

गत मंगलबार लेखनाथको भण्डारढिकमा आयोजित मुख्यमन्त्री फुटबल कपको उद्घाटनका क्रममा कास्कीका एन्फा अध्यक्ष गुरुङलाई सांसद मनाङेले प्रतियोगितास्थलमै झापड हानेका थिए । एन्फाबाट आएको पैसा खाएर खेलाडीलाई दुःख दिएको भन्दै मनाङेले अध्यक्ष गुरुङलाई झापड हानेका थिए ।

एन्फा कास्कीका अध्यक्ष गुरुङले सोही कुटपिटको विषयलाई लिएर आफ्नो जिउधनको सुरक्षाको माग गर्दै सांसद मनाङेविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेका थिए । उनले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर गरेको आरोप लगाई निवेदन दर्ता गरेको र सोही निवेदनका आधारमा सांसद मनाङेलाई आज पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता केसीले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments