प्रदेश सांसद मनाङे र एन्फा जिल्ला अध्यक्ष गुरुङबीच आरोप प्रत्यारोप

बुधबार, माघ ८, २०७६



पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ(दीपक मनाङे) विरूद्ध प्रहरीमा जाहेरी दिएका छन्।

अध्यक्ष गुरुङले मनाङेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूमाथि कुटपिट गरेको भन्दै जाहेरी दिएका हुन्। पीडित भनिएका अध्यक्ष गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर गरेको आरोप लगाई निवेदन दर्ता गरेका हुन् ।

पीडित अध्यक्ष गुरुङले मुद्दा दर्ता गर्न जानुअघि पोखरामा पत्रकार सम्मेलन गर्दै शान्ति सुरक्षा, सार्वजनिकस्थलमा हातपात गरेको, चरित्र हत्या गर्ने काम गरेको भन्दै आफ्नो जिउधनको सुरक्षाको माग गर्दै सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको बताए ।

उनले मनाङेको जस्तो व्यवहार आफूले पनि देखाएको भए प्रतियोगिता भाँडिने सम्भावना रहेको बताए । मुख्यमन्त्री आउने समय भएकाले आफू संयमित भएर बसेको उनको भनाइ थियो ।

मनाङे के भन्छन् ?

मंगलबार लेखनाथको भण्डारढिकमा आयोजित मुख्यमन्त्री फुटबल कपको उद्घाटनका क्रममा अध्यक्ष गुरुङलाई  मनाङेले झापड हानेका थिए । बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सांसद मनाङेले अध्यक्ष गुरुङले बदमासी गरेकाले हात हालेको बताएका हुन् । सांसद मनाङेले अध्यक्ष गुरुङले ठगी गर्दै हिँडेको आरोप लगाउँदै भने, ‘आफैं ठग्ने ढाँट्ने अनि पत्रकार सम्मेलन गर्दै हिँड्ने ? जिल्लाबाट आएका खेलाडीले दुःख पाउँदा मैले चुप लागेर बस्नुपर्ने हो ?’

‘यस्ता ठगहरूलाई तपाईंले नि कुट्नुस् । ४ गते खेल हुन्छ भनेर बोलाउने अनि फेरि खेल ७ गतेलाई सार्ने, अनि टाइसिटमा पनि फिक्सिङ गर्ने,’ उनले भने, ‘खेलाडीलाई लजिङ, फुडिङको व्यवस्था नगर्ने, खेल मैदान उपलब्ध नगराउने अनि ठूलोठूलो कुरा गरेर हुन्छ ? म नभएको भए त मेरा बच्चाहरूको बिचल्ली हुन्थ्यो । धन्न म पोखरामा नै थिएँ । अझै ठूलोठूलो कुरा गर्छ उसले, अनि कसरी सहने ?’

सांसद मनाङले थपे, ‘त्यस्तालाई कुटेर नै ठीक पार्ने हो । यसले मुख्य मन्त्रीको समेत बेइज्जत गरेको छ । मलाई कुटेकोमा कुनै पछुतो छैन । तपाईंहरूलाई कुटेर बेठीक गर्‍यो भन्ने लाग्छ भने त्यो तपाईंहरूको समस्या हो ।’

कार्यक्रममा सांसद मनाङसँगै एन्फा मनाङका अध्यक्ष र एन्फा मनाङका अध्यक्ष निरज गुरुङकाे पनि उपस्थिति थियो । अध्यक्ष निरज गुरुङले पनि अध्यक्ष मिलनले गल्ती गरेको बताए । सांसद मनाङेले राखेको प्रेसमिटमा अध्यक्ष मिलनको चेक बाउन्सको फोटोकपीसमेत देखाइएको थियो । ‘बाउन्स चेक देखाउँदै सांसद मनाङले भने, ‘त्यो ठग रहेछ, त्यसका यस्ता ठगीका ५० मुद्दा रहेछन् ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments