वरिष्ठ कलाकार दीपक क्षेत्री रहेनन्

शनिबार, मंसिर २८, २०७६



काठमाडौं । वरिष्ठ कलाकार दीपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षीय क्षेत्री शनिबार डिल्लीबजारस्थित आफ्नै डेरामा  सुतेको अवस्थामा मृत फेला परेका हुन् ।

शुक्रबार साँझ चलचित्रकाे रेकर्डिङ गरेर काेठा गएका क्षेत्रीले शनिबार धेरै बेरसम्म पनि ढाेका नखाेलेपछि उनका छाेराले प्रहरीलाई खबर गरेका थिए । ढाेका फुटाएर भित्र जाँदा उनी सुतेकै ठाउँमा मृत भेटिएका हुन् । हाल उनको शवलाई पोस्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

गत वर्ष स्वर नलीमा सिस्ट पलाएर स्वर गुमाएका कारण क्षेत्रीले केही समय कलाकारिताबाट विश्राम लिएका थिए । तर, सफल शल्यक्रियाबाट स्वर फिर्ता आएपछि उनी पुनः अभिनयमा फर्किएका थिए । पछिल्लोपटक उनले अभिनय गरेको चलचित्र ‘छ माया छपक्कै’ सुपरहिट भएको थियो ।

फिल्म ‘सेतो सूर्य’मा उनले गरेको अभिनयको तारिफ गर्दै हलिउड समीक्षकले लेखेका थिए: ‘दृश्यलाई जीवन्त तुल्याउन ज्यान दिने अभिनेता।’ खलनायक र चरित्र अभिनेताका रुपमा बढी देखिने स्व. क्षेत्रीले जीवनदान, सिमाना, झोला, राज्जा रानी, मसानलगायत सयभन्दा बढी नेपाली चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेका छन् ।

हाल उनकी श्रीमती र छोरी एक अवार्ड कार्यक्रममा सहभागी हुन मलेसियामा रहेका छन् । श्रीमती र छोरी नेपाल फर्किएपछि मात्र क्षेत्रीको अन्त्येष्टि गरिनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments