नेपाली साहित्य महोत्सवमा राष्ट्रपति भण्डारीदेखि राष्ट्रकवि घिमिरेसम्म सहभागी

बिहिबार, फाल्गुन १५, २०७६



अत्तरिया । विश्वभरिका नेपालीभाषी साहित्यकारको अपूर्व जमघट हुने विश्व नेपाली साहित्य महोत्सव बुधबारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित साहित्य महोत्सवमा सहभागिता जनाउन विश्वभरिबाट नेपालीभाषी आउनेक्रम जारी छ ।

महोत्सवमा राष्ट्रपति विद्या भण्डारी, राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द, वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्री, भारतको सिक्किम राज्यका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार डा पवन चामलिङ, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, नेपाल सरकारका मन्त्री, विश्वका विभिन्न मुलुकका नेपालीभाषी साहित्यकारसहित ५०० बढीको सहभागिता छ ।

उद्घाटन समारोह तथा महोत्सव अवधिभरि सुदूरपश्चिमका प्रसिद्ध सांस्कृतिक झाँकी– पञ्चेबाजा, गौरा, छलिया, अछामको होरी र रनपुतला, रानाथारुको होरी, सखिया, मुङ्ग्रहवा, हुड्केली, भुवालगायतको प्रस्तुति गरिएको छ ।

महोत्सव अवधिभरि ३० बढी विभिन्न साहित्य सत्र (अन्तरसंवाद), काव्यसभा, सांस्कृतिक कार्यक्रम समावेश गरिएका छन् । आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अनुसार साहित्य र राजनीति :  अन्तरद्वन्द्व कि अन्तरसम्बन्ध, सङ्घर्ष र सफलताको कथा, लोकसभा नपढिएको विश्वविद्यालय, स्वाभिमानी जातिका स्वाभिमानी पाइला, सहयात्रा :  महको मिठास, नेपाली समालोचनाको दशा र दिशा, खतरा छ ? इतिहास र संस्कृति, नेपाली साहित्यमा महाभारतको प्रभाव, हास्यव्यङ्ग्यको झटारो : अप्रियश्चः प्रियताम्, कस्तो छ नेपाल बाहिरको नेपालीभाषी जीवन ? र परिदृश्यमा भोलिको नेपाल विषयमा अन्तरसंंवाद हुनेछ ।

त्यस्तै गजल गुञ्जन :  ‘के भुल भयो प्रिया…,’ उमेर संवाद :  प्रविधि र पुस्ता, आइबीपछिको दार्जिलिङ, आख्यानमा आञ्चलिकता, लेखनमा लिङ्गीय भेदको सकस, द्वन्द्व र दुःखको उल्झन :  नारायण ! नारायण !!, भाषा भावनाको कडी, एकताको आधार, कविताको मुकाम, डायस्पोरामा नेपाली साहित्य :  जीवनको पलायन कि भाषाको फैलावट, कविताको आराधना, सङ्गठनले धानेको साहित्य, आख्यानको नयाँ लोक, नेपाली आख्यानको परिभ्रमण तथा बर्माको बोली :  माइती देशको कौवा प्यारो शीर्षकमा साहित्य संवाद हुनेछ ।

    त्यस्तै साहित्य अन्तरसंवादमा विश्व आकाशमा कहाँनेर छ नेपाली साहित्य ?, आफ्नै परम्परा, सुदूरपश्चिम स्वर्गसरि माया रैजाउ जनमभरि, सांसदका कुरा :  कति पूरा कति अधुरा ?, स्वर्णकाल पर्खिएको नेपाली गजल, मेरो गाजल :  मेरो गजल, कहर काटिएको जिन्दगी, पश्चिमले गर्ला त पूरा :  आख्यानका अधुरा कुरा ?, सीमान्त कथा, साहित्य र राजनीति कति नजिक कति टाढा ?, विद्वताले नधानेको राजनीति, मुख्यमन्त्रीको प्रदेश सपना, सुरमा बगेको सुदूरपश्चिम, सिमान्त सपनाका ऐंठन, कविता मुक्तिको खोजी कि छन्दको बन्धन, टेलिभिजनको क्रेज :  हिजो, आज र भोलि, जीवन :  पर्दाभित्र पर्दा बाहिर, मन्त्रीका सपना  :  विकासका योजना, मेरो सपना :  मेरो शहर, म झुक्दै नझुक्ने नेपालको छोरो, संस्कृति तथा स्थानीय प्रतिभाको प्रस्तुतीकरण, समृद्धिको सपना र अस्तित्वमा एकता :  हिजो, आज र भोलि शीर्षक समावेश गरिएका छन् ।

विश्व नेपाली साहित्य महोत्सवमा सहभागी बन्न नेपालका विभिन्न जिल्ला, शहर तथा भारतका विभिन्न राज्य र अन्य देशबाट नेपालीभाषी साहित्यकार धनगढी आउने क्रम जारी रहेको आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले जनाएको छ ।

महोत्सवको पूर्वसन्ध्यामा कुराकानी गर्दै समाजका अध्यक्ष रामलाल जोशीले महोत्सवले विश्वभरिका नेपालीभाषीबीच भावनात्मक तथा भाषिक एकता अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले भने, “नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गमस्थल मानिएको काली–कर्णाली क्षेत्रको धनगढीमा विश्वस्तरको नेपाली साहित्य महोत्सव आयोजनाले निश्चय पनि सुदूरपश्चिम प्रदेश र यहाँको भाषा, संस्कृति, सभ्यता तथा कला, वाङमयलाई विश्वभरि स्थापित गर्ने विश्वास लिएका छौँ ।” धनगढीमा मात्रै नभएर नेपालमै यो स्तरको साहित्य महोत्सव पहिलो पटक आयोजना भएको जोशीको भनाइ छ ।

आयोजक मूल समारोह समितिका संयोजक यत्रराज उपाध्यायले महोत्सवमा सहभागी बन्न मङ्गलबार साँझसम्म नेपालको झापा, विराटनगर, काठमाडौँलगायतका शहरका साथै भारतको आसाम, सिक्किम, दार्जिलिङ, केरला, आन्ध्र प्रदेशलगायतका राज्यबाट नेपालीभाषी साहित्यकार धनगढी आइपुगेको जानकारी दिए ।

संयोजक उपाध्यायले भने, “बुधबार बिहान काठमाडौँबाट ५० बढी साहित्यकार आइपग्नुभएको छ, अन्य शहरबाट समेत साहित्यकार आउनेक्रम जारी छ । महोत्सव आगामी २० गतेसम्म सञ्चालन हुनेछ ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments