देउवाले पार्टीलाई संकटमा धकेले, केन्द्रीय समितिकाे निर्णय मान्दैनाैं- पौडेल समूह

शनिबार, पुस १२, २०७६



काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्ष रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा गरेको निर्णयहरु सच्याउन माग गरेको छ । शनिबार महामन्त्री शशांक काेइराला निवास महाराजगञ्जमा बसेकाे वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहकाे बैठकले सभापति शेरबहादुर देउवाले पार्टीलाई संकटमा धकेलेकाे निष्कर्ष निकालेकाे हाे ।

पौडेल र कृष्णप्रसाद सिटौला समूह समूहको बहिस्कारका बीच शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यकाल एक वर्ष थप्ने, २०७७ फागनु ७-१० सम्म १४औं महापधिवेशन गर्ने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट पौडेल समूहको बैठकले गलत मनसायका साथ निर्णय भएको ठहर गर्दै पार्टीलाई संकटमा पुर्‍याउने काम भएको जिकिर गरेको छ । बैठकपछि वरिष्ठ नेता पौडेलले भने, ‘गलत मनसायबाट भएको छ, विधानको मर्म विपरित छ, पार्टीको परम्परा विपरित छ । त्यो सच्याइनुपर्छ ।’

‘भातृ संस्थाको अधिवेशन नेतृत्वको हेलचक्राइँका कारणले कयौं वर्षदेखि रोकिएको छ। भातृ संस्था अलपत्र छ,’ उनले भने, ‘हामीले पार्टीलाई एउटा सिष्टममा चलोस् भनेका हौं।’ उनले १३ औं महाधिवेशनबाट आएको नेतृत्वको कार्यकाल यही फागुनमा सकिने भए पनि कुनै छलफल बिना एक वर्ष कार्यकाल थप गरिएको पनि उल्लेख गरे।

उनले महासमिति बैठकपछि संशाेधन गरिएकाे पार्टी विधानकाे धज्जी उडाउने काम सभापति देउवाबाट भएकाे आराेप पनि लगाए । “१२ सय बढी महासमिति सदस्यहरूकाे बैठकपछि पार्टीकाे विधान संशाेधन भएकाे १ वर्ष पनि पुगेकाे छैन,” उनले थपे, “महाधिवेशनकाे कार्यतालिका सार्वजनिक गर्ने नाममा आफुखुशी विधानका दफा निलम्बन गरिएकाे छ ।”

पार्टी विधानकाे व्यवस्था निलम्बन गर्ने कुरा बहुमतबाट हुन नसक्ने भन्दै त्यसमा सहमति नखाेजिएकाेमा पनि आक्रोश पोखे ।

उनले नेतृत्वबाट सजक रहन देशभरका कार्यकर्तालाई आग्रह गरेका छन्। ‘साथीहरूलाई सजक रहन अपिल गर्छु। बहुमत छ भन्दैमा एकलौटी निर्णय छुट छैन,’ पौडेलले भने।

पौडेलपछि बोलेका वार्ता टोली संयोजक पूर्वमहामन्त्री सिंहले पनि सहमतिमै पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिए। विवादका विषयमा आफू र उपसभापति विमलेन्द्र निधिबीच कुराकानी चलिरहेको तथा सहमतिमा पुग्नै लागेका बेला एकलौटी निर्णय भएको उनले बताए।

सहमतिका लागि छलफल भइरहेकै बेला एक्कासी निर्णय भएकाे भन्दै काेइरालाले असन्तुष्टि व्यक्त गरे ।  “पार्टी सहमतिमा अघि बढ्नुपर्छ । मैले सँधै पार्टी एकताकाे पक्षमा बाेल्दै आएकाे छु,”   उनले भने, “हिजाेकाे निर्णय राम्राे भएन । सभापतिले नै एकताका लागि बढी पहल गर्नुपर्छ ।”

२०७७ फागुनमा महाधिवेशन गर्ने निर्णयमा पनि पौडेल समूहले असहमति जनाएको छ । थपिएको म्यादको पनि अन्तिम समयमा महाधिवेशन गर्ने निर्णय गरेर सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पर्न खोजिएको पौडेलको आरोप छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments