देश सम्झेर परदेशमा !

शनिबार, असार २१, २०७६



देश सम्झेर परदेशमा
————————

हामी चराहरु
आँगनकै रुखहरुको वसन्त भुलेर
विर्सेर मौलिक चिरविराहट – यो बगरको बगैचामा
रेमिट्यान्स खोस्रिरहेका हामी माहुरीहरु ।

काठको प्लेनमा फर्किनु अघि
सूर्य चुहिने आकाश ओढेर सोचिरहेछु म
आधा भत्केको आमाको अनुहारमा हाँसोको पुर्ननिर्माण गर्नुछ,
खोतल्नु छ – घरले पुरेको छोरीको लास ।
साँझ पर्दैमा अन्तिम नहुँदो रहेछ समय ।

भोको पहाडका आँसु लिएर
उधो बग्दै गरेका लाहुरे नदीहरुलाई
अब कुलोमा डोहोर्याउनु छ – बाँझा फाँटहरुतिर
र पसिना फुलाउनु छ ।

सडकमा चिच्याईरहने असन्तुष्ट आगोलाई
प्रेमले बाल्नु छ ओदानमा फेरी
र टुहुराको ओठ भिजाउने दुध उमाल्नु छ ।

चौकमा जल्दै गरेको
शासकको पुत्ला लगेर उभ्याउनु छ – आलीमा
र खेद्नु छ अनागरीक चराहरुलाई ।
सिमाना भित्र हाम्रो ईतिहासको एउटा ठेगाना छ ।

ति भिरहरुमा हाम्रा पुर्खाको मृत छाँयाहरु छन
लडेर मरेका
जहाँ एम्बुलेन्स खेल्ने एउटा बाटो निकाल्नु छ
ति खोलाहरुमा हाम्रा आँसुहरु छन
बगेर गएका
जहाँ मन वारपार गर्ने पुल जोड्नु छ ।

हाम्रो उन्यु जस्तो देशलाई
गुराँस झै फुलाउन धेरै धेरै थोक गर्नु छ

तर अहिले त यो तातो बालुवाको देशमा
आफ्नै पसिनाले त्यो युद्धको रगत पखाल्दै छौँ मनबाट
समयको अर्लाम बज्नु अघि नै
व्युझिएर फर्किनु छ हामीलाई आधुनिक गीत लिएर।

Nabin Abhilashi
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata