भक्तपुरमा १२ जनामा डेंगुको संक्रमण भेटियो, नियन्त्रण अभियान शुरु

बुधबार, भदौ १८, २०७६



भक्तपुर । भक्तपुरमा १२ जनामा डेंगुको संक्रमण भेटिएपछि रोग नियन्त्रण तथा रोकथाम अभियान शुरु गरिएको छ । सो अभियान अन्तर्गत जिल्लाका सरोकारवालाको संयुक्त टोलीले डेंगुका बारेमा गम्भीर छलफल गरि नियन्त्रणको रणनीतिक योजना बनाएका छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार जिल्लामा द्रुत प्रतिकार्य समुहको बैठक बसी रोकथाम गर्ने अभियान शुरु गरिएको छ।  जिल्लाका चारवटै नगरपालिकामा रोग नियन्त्रण तथा रोकथाम अभियान गर्न एक समन्वय समिति बनाईएको उनले बताए ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले अभियान अन्तर्गत सुर्यविनायक नगरपालिका भित्रका जनप्रतिनिधि, पत्रकार, स्वास्थ्यचौकी र नगर स्वास्थ्य केन्द्रका प्रमुखसँग डेंगु रोकथामका बारेमा समन्वय बैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी दिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले डेंगु रोग नियन्त्रणका लागि नगरबाट पनि प्रयास जारी रहेको जानकारी दिएका थिए ।

डेंगु रोग नियन्त्रण सम्बन्धी समन्वयात्मक बैठकमा बोल्दै प्रमुख थापाले डेंगु रोग नियन्त्रणका लागि नगरले सबै खालका प्रयास र प्रयत्नहरु गर्ने र सातादिनसम्म निरन्तर माईकिङ गरेर डेंगु नियन्त्रणबारे नगरबासीलाई सचेत गराईने अभियान थालनी गर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, पत्रकार लगायतको टोलीले डेंगु रोग नियन्त्रणका लागि संयुक्त पहल थाल्ने बताएका छन् ।

त्यसैगरी नगरपालिका स्वास्थ्य इकाइ संयोजक बसन्त चापागाईंले डेंगु संक्रमण बढेपछि प्रत्येक स्वास्थ्य चौकी र नगर स्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेंगुबारे जनचेतना अभियान चलाइएको जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata