श्रमिक वर्गहरूका लागि विशेष प्याकेजको घोषणा गर्न माग

बिहिबार, चैत्र १३, २०७६

काठमाडौँ । कोभिड-१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले देशभर लकडाउन गरिहरेको छ । देशभर लकडाउन भइरहेको अवस्थामा श्रमिक वर्गहरूले मार खेप्नु परेको भन्दै सरकारसँग विशेष प्याकेजको माग गरिएको छ ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ,केदारभक्त माथेमा, दुर्गा सुवेदी र रविन्द्र मिश्रले संयुक्त, रूपमा सरकारको ध्यानाकर्षण गरेका छन् ।
उनीहरूले एक विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गरेका हुन । विज्ञप्तिमा भनिएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना सङ्क्रमण (कोभिड-१९) नियन्त्रणका लागि नेपाल सरकारले हालैका दिनहरूमा देखाएको गम्भीर चासो र लिएका कदमहरू स्वागतयोग्य छन्।

यो अभूतपूर्व मानवीय सङ्कटबाट पार पाउन राजनीतिक आरोप, प्रत्यारोपबाट माथि उठेर गर्नु पर्ने कामहरू प्रशस्तै छन्। हाम्रो सम्पूर्ण ध्यान रोगको नियन्त्रण कसरी गर्ने भन्नेमा केन्द्रित भएको देखिन्छ, जुन जरुरी छ।

तर दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरुन्तै विशेष प्याकेजको घोषणा गरोस् भनी हामी सरकारसँग जोडदार माग गर्दछौँ। विज्ञप्तिमा भनिएकाे छ ।

नेपालमा दिनदिनै कमाएर जीवन गुजारा गर्नु पर्नेहरूको सङ्ख्या ‍ठूलो छ। सङ्क्रमण या बन्दा बन्दीको अवस्था लम्बिएको खण्डमा दैनिक ज्यालादारीमा गुजारा गर्नेहरूका लागि भयावह पूर्ण स्थिति सृजना हुन सक्छ। उनीहरूले रोगबाट बच्न खोज्दा भोक स्विकार्नु पर्ने बाध्यता नहोस् भन्दै सरकारको ध्यानाकर्षण गरिएको छ ।

श्रमिक वर्गहरूका लागि सरकारले तुरुन्तै विशेष प्याकेज घोषणा गर्नु पर्छ। त्यस्तो प्याकेजमा निःशुल्क रासन, बेतनसहितको बिदा, बालबच्चाको स्कुलमा फी मिनाहा, निःशुल्क उपचारका साथै   स्थानीय सरकारहरू मार्फत कार्यान्वयन गराउन माग गरिएको छ ।

यो सङ्कटको घडीबाट पार पाउन सकारात्मक सोचका साथ एक भएर अघि बढ्न हामी सम्पूर्ण राजनीतिक नेतृत्व तथा आम सर्वसाधारणलाई समेत आग्रह गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments