पत्रकारसहित दश जना पक्राउ, १८ करोड हिनामिनाको आरोप

रकम घोटाला काण्ड

सोमवार, भदौ १६, २०७६



दाङ । दाङको नाराणपुरस्थित देव बैंकको झन्डै १८ करोड हिनामिनाको आरोपमा एक पत्रकारसहित दश जनालाई प्रहरीले पक्राउ गरेको छ । बैंकको रकम घाटाला काण्डमा संलग्न भएको आशंकामा प्रहरीले पत्रकार उज्वल आचार्यसहित दश जनालाई पक्राउ गरेको हो । यसअघि नै बैंक म्यानेजरलाई उक्त अभियोगमा प्रहरीले पक्राउ गरिएको थियो ।

सोही कसुरमा पक्राउ परेका बुढाथोकीको बयानका क्रममा अन्य थप दश जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरीले पक्राउ परेका पत्रकार आचार्यसहित दशै जनालाई उच्च अदालत तुलसीपुर वाणिज्य इजलासबाट म्यादसमेत थप गरेको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका प्रहरी निरीक्षक राजेन्द्र गौतमले बताए ।

पक्राउ परेका सबैलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार प्राप्त भएको गौतमले जानकारी दिए । गौतमले पक्राउ परेका म्यानेजरको बयानका आधारमा बैंकको १८ करोड घोटाला काण्डमा अन्यको पनि नाम आएको हुँदा उनीहरुको संलग्नता रहे नरहेको अनुसन्धान गर्न पक्राउ गर्दै जाने जानकारी दिए ।

प्रहरी निरीक्षक गौतमले पछिल्लो समय पक्राउ गरिएका दश जनाको खातामा १८ करोड मध्यको रकम बैंकबाट ट्रान्सफर भएको देखिन आएको बताए ।  “बैंकवाट रकम ट्रान्सफर गरेर दशैजनाले पटक–पटक उक्त रकम निकासा गरेको देखिन आएको छ,” गौतमले भने ।

दाङमा केन्द्रीय कार्यालय रहेको बेष्टर्न डेभलपमेन्ट बैंक र देव बिकास बैंक गत असार महिनामा मात्रै मर्ज भएका थिए । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर बजारमा रहेको देव विकास बैंकको करिब १८ करोड रकम हिनामिना गरेको अभियोगमा म्यानेजर समिर बुढाथोकीलाई प्रहरीले भदौ ३ गते नै पक्राउ गरेको थियो ।

घोराही वडा नं. १५ भरतपुर निवासी २९ वर्षीय बुढाथोकीको बयानका आधारमा थप दश जनालाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।  म्यानेजर बुढाथोकीलाई देव बैंकको १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।  नक्कली ऋणी खडा गरि उनले उक्त रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको यसअघि नै जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata