भूमध्यसागरीय बाटो हुँदै यूरोप भित्रिने क्रममा हुने मृत्यदरमा वृद्धिः राष्ट्रसङ्घ

मङ्लबार, भदौ १९, २०७५



जेनेभा । भूमध्यसागरीय बाटो भएर यूरोप प्रवेशमा कडाइ गरिएसँगै यो बाटोको प्रयोगमा ह्वात्तै कमी आएपनि उक्त बाटो यूरोप जाने क्रममा आप्रबासी शरणार्थीले ज्यान गुमाएका घटनामा भने कमी आउन नसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सन् २०१८ को जनवरीदेखि जुलाईसम्म उक्त बाटो भएर यूरोप पुग्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या ५८ हजारभन्दा बढी रहेको राष्ट्रसङ्घीय शरणार्थी मामिला हेर्ने निकाय (यूएनएचसीआर) ले तयार पारेको प्रतिवेदनमा जनाइएको छ । यो सङ्ख्या सन् २०१७ को सोही समयको तुलनामा ४१ प्रतिशतले कमी भएको जनाइएको छ ।

आप्रबासीले भूमध्यसागर हुँदै इटाली पुग्ने खतरनाक बाटोको प्रयोग गत बर्षभन्दा निकै घटेर ९५ हजारबाट १८ हजार ५०० पुगेको छ । तर खतरनाक सामुद्रिक बाटो प्रयोग गर्ने क्रममा वेपत्ता आप्रबासी शरणार्थीको सङ्ख्या भने यस बर्षको पहिलो सात महिनामा एक हजार ६०० पुगेको छ । सोही अवधिमा उक्त बाटोमा भएका मृतकको सङ्ख्या पनि एक हजार २०० जना रहेको छ ।

यो सङ्ख्या यस पहिले हुने गरेका वेपत्ता तथा मृतकको सङ्ख्याको तुलनामा कमी भएपनि प्रतिशतमा भने धेरै हो ।

राष्ट्रसङ्घको तथ्याङ्क अनुसार भूमध्यसागरीय मार्गको प्रयोग गरी यूरोप छिर्ने हरेक १८ जनामा एक जनाले ज्यान गुमाएका जनाइएको छ । यो दर गत बर्षको सोही अवधिमा प्रत्येक ४२ मा एक जना रहेको थियो ।

यससँगै उक्त बाटो पुनः एक पटक विश्वकै खतरनाकमध्येको सामुद्रिक मार्ग ठहर भएको यूएनएचसीआरको यूरोप मामिला प्रमुख पास्कल मोरोउले एक वक्तब्य जारी गरी बताएका छन् ।

यूरोप आउने आप्रबासी सङ्ख्यामा कमी आएसँगै यूरोपले कसरी उनीहरूलाई व्यवस्थापन गर्ने भन्ने सङ्कट टरेको छ तर मानवीय क्षतिमा कमी ल्याउन यूरोप लगायतका अन्तराष्ट्रिय समुदायको ध्यान जानु जरुरी भएको उनले बताएका छन् ।

यूरोपमा आउने शरणार्थी सङ्ख्यामा कमी देखिएपनि अफ्रिका तथा मध्यपूर्वबाट यूरोप पुग्ने शरणार्थीका बिषयलाई लिएर इटाली, जर्मनी लगायतका मुलुकहरूमा राजनीतिक तनावमा भने कमी देखिएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata