कैदीको शंकास्पद मृत्यु : नख्खु जेलका जरा खोतल्लै प्रहरी

बुधबार, जेष्ठ २, २०७५



काठमाडौं । करणी र कर्तव्यज्यान मुद्दामा नख्खु जेलमा कैद सजाय भोगिरहेका भक्तबहादुर सुनुवारको शंकास्पद मृत्यु र जेलभित्रको बेथितिबारे अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा गठित समितिले झन्डै ३० जनासँग बयान लिएको छ ।

शंकास्पद मृत्यु र जेलभित्रको बेथिति सार्वजनिक भएलगत्तै गृहले छानबिन समिति बनाएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरले पनि अलग्गै समिति बनाएर यो प्रकरणको अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार गृहले गठन गरेको समितिले अहिलेसम्म मृतकसँगै सुत्ने कैदी, नजिकको संगतमा रहेकाहरू, चौकीदार, जेलर, सुरक्षा प्रमुख र सिरियल किलरका रूपमा चिनिने कैदी अभिषेकराज सिंहलगायतसँग बयान लिएको छ ।

मृतक भक्त २० गते बिहान व्यायामशाला गएर आएको, त्यसलगत्तै उनको रक्तचाप एक्कासि न्यून भएपछि वीर अस्पताल लगिएको जानकारी समितिले पाएको छ । स्वस्थ रहेका भक्तको माथिल्लो रक्तचाप एक्कासि कसरी ५०/४० मा झर्‍यो भन्ने खुलेको छैन । समितिले भक्तलाई अस्पताल पुर्‍याउने र कुरुवा बस्ने प्रहरीसँग पनि बयान लिएको छ । समितिका एक सदस्यले भक्तको मृत्यु शंकास्पद नै देखिएको र मृत्युसँग धेरै तथ्य जेलिएको बताए ।

समितिले हस्तलिखित पत्रको वैधानिकता जाँचका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाउने तयारी गरेको छ । समितिका अनुसार विधिविज्ञानले उक्त पत्र भक्तले नै लेखेका थिए वा थिएनन्, कति समय अघि लेखेका थिए लगायतका तथ्य बाहिर ल्याउनेछ ।

स्रोतका अनुसार नख्खु जेलभित्र कैदीहरूको दुई फरक–फरक समूहबीच संघर्ष छ । समितिका एक सदस्यका अनुसार चौकीदारसहितको समूहलाई हटाएर आफ्नो समूह स्थापित गर्ने संघर्ष पनि त्यहाँ चलेको देखियो । जेलभित्र सञ्चालनमा रहेका पसल, रेस्टुराँ, वासिङ सेन्टर, मासु पसलबाट हुने आम्दानी र अन्य अवैध चलखेलबाट प्राप्त हुने आम्दानीका निम्ति केही कैदीबीच अस्वाभाविक संघर्ष चलेको समितिका एक सदस्यले बताए ।

भक्तलाई करिब ३ महिनाअघि अर्का कैदी अभिषेकको पहलमा डिल्लीबजार कारागारबाट नख्खु सरुवा गरिएको थियो । मृतकको साथबाट भेटिएको पत्रमा उनले आफूमाथि कुटपिट हुने गरेको, जेलभित्र अनेक समस्या रहेको भन्दै कैयन कैदीमाथि पोल लगाएका छन् । समितिले उक्त पत्रमा लेखिएको तथ्यको सत्यता जाँच गरिरहेको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला, महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी सोमेन्द्रसिंह राठौर, गृहका शाखा अधिकृत घनश्याम घिमिरे र कृष्णप्रसाद सापकोटा छन् । मृतकका परिवारले भक्तको मृत्यु कारागारभित्र कुटपिटका कारण भएको दाबी गर्दै घटनाको छानबिनका लागि मृतकको साथबाट फेला परेको भनिएको तीन पृष्ठको हस्तलिखित पत्र गृहमन्त्री रामबहादुर थापालाई बुझाएका थिए । त्यसलगत्तै थापाले समिति गठन गर्न निर्देशन दिएका थिए । एक्कासि बिरामी भएपछि उनलाई २० गते वीर अस्पताल लगिएको थियो । वीरमा उपचार हुन नसकेपछि पाटन अस्पताल लगिएका भक्तको २१ गते बिहान मृत्यु भएको थियो । कान्तिपुरबाट

67 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank