हातको औँलाहरुमा दशैंका कथा र व्यथा

बुधबार, अशोज ११, २०७४

loading...

- प्रताप ओली



बच्चाहरु लट्टाई बनाउँदैछन् । केही समयमै आफ्ना उमंगका चंगा उनीहरुले आकाशमा उडाउनेछन् । आकाश सफा हुँदैछ । उघ्रदैछ । बर्षाले बिदा लिदै छ । बाटो चौर र पाखा पनि सुख्खा हुँदैछन् । हिलोले विदा पाउँदैछ । आकाशतिर मनमौजी आँखा लगाएर उनीहरु चंगा उडाउन पाउनेछन् । चंगा उडानेछन् । धागो र चंगा लुट्न पाउनेछन् । बुढीबज्यै नाती काखमा राखेर कान्छी औंलादेखि बुढीऔंलासम्म भाँच्दै पुरानो दशैंगीत गाउँदैछिन् ।

दशैं आयो
खाउँला पिउँला
कहाँ पाउँला
चोरी ल्याउँला
धत्तेरी पापी छुट्टै बसुँला !

नाती खिसक्क हाँसेर त्यही गीत दोहॊर् याउँछ -दशैं आयो …॥

सहज छ कान्छी औंला साना बच्चाहरुको प्रतीक हो भने बुढीऔंला बज्यैकै प्रतीक । यस लोकगीतले उमेरक्रमकै मानसिकतालाई प्रतिविम्बित गर्दछ । सबभन्दा सानालाई दशैं आयो । खान लाउनको बढै रहर छैन । तिनलाई अरुको दाँजोमा मीठो कुरोको कहिल्यै कमी भएन । बरु रमीणय दशैंको सामाजिक वातावरण नै काफी छ तिनलाई ।

तिनीभन्दा माथि काहिलीऔंला खान लाउनपट्टि आकर्षित छिन् । देखासिखी गर्ने उमेर छ तिनको । गाउँका सबै धानको भात खान्छन् । हाँस कुखुरा, राँगो, सुंगुर, खसी जेजस्तो छ त्यसैको मासु खान्छन् । राम्राराम्रा रंगीचंगी लुगा लगाउँछन् । त्यो उसलाई पनि चाहिन्छ । साथीसंगीसंग रमाइलो गर्नु छ । नाँचगान गर्नु छ । पीङ खेल्न जानु छ । उनीहरुसरह मीठा कुरा पेटभरी खाएर अनि राम्राराम्रा लुगा लगाएर रमझम गर्नु छ । लाउन खाने समयनै यही हो उनको लागि । धान पाकेको छ खेतामा । त्यसैको भात खाने हो । केही बेचेर पैसा हात पर्छ । त्यसैले लाउने हो । छैन केही घरमा भने पनि उसको दायित्व के छ र सबैका बच्चाहरु पेटभरी मीठा खान्छन् आङमा राम्रा लुगा लाउँछन् । त्यो जसरी पनि तिनलाई चाहियो नै । बच्चा हो किन धेरै सोच्न पर्‍यो ?

साहिँलीऔंला केही उत्तरदायी छिन् । समाजको रितिथिति तिनी बुझ्दछिन् । घरको स्थिति र समाजको घातप्रतिघातलाई बुझ्दछिन् । दशैं त आयो तर त्यो लाउने खाने सपना यसै साकार हुनेवाला छैन । आकाशबाट केही झर्नेवाला छैन । घरमा छैन अरुबाट पाइन्न । सबैको रामकहानी एउटै हो । घरका सबैले दुख गरी कमाएका धान वा मासु सीमित छ । बाढीले खेत लग्यो । पैरोले खसी पुर् यो । कान्ला लडेर घरै तान्यो । साहुले रिणको व्याज भनेर हाँस कुखुरा लग्यो । हरियो धाननै झारेर लग्यो बरैले । कयौं बर्ष त तिनले पनि खाउँला लाउँला भनिन् । बा आमा दिदी दाजुका गाह्रोसाह्रोलाई नबुझेर दशैंको मुखमा तिनले पनि यही गीत गाइन् । यस्तो स्थितिमा खाने लाउने त हो तर बुझ्ने भएकी तिनले प्रतिप्रश्न राख्दछिन् – कहाँ पाउँला ?

त्यस्तै घातप्रतिघातबाट वाक्किएर हारेर सही काम कार्वाहीबाट कत्ति पनि नहुने भएर माहिलीऔंला विद्रोही भएर उभिन्छिन् – चोरी ल्याउँला ।

सबै औंला भन्दा बाठी सबैभन्दा बढी कृयाशील । समात्दा पनि उनै अघी केही देखाउन पर्दा पनि उनै अघि लेख्दा पैसा गन्दा माना भर्दा कोदली खन्दा मुखमा गाँस हाल्दा हतियार समाउँदा सबैमा तिनी नै अघि । विचारणीय छ सबैभन्दा अग्रनी हुने यो औंलाले किन चोरी ल्याउने कुरा गर्छिन् । किन यिनलाई चोरऔंला भनियो । के यिनले समाजिक रितिथिति भित्रको व्याधिकीय मूल्यको प्रतिनिधित्व गरिनन् यिनले यथास्थितिको परिपाटीमा विद्रोह गरिनन् सबैको श्रम र मेहनतमा धावा बोलिनन् चोर्ने भनेपछि अर्काकै फलमा डकैती भएन ?

तर पख्नोस् तिनले चोर्छिन् नै भने कहाँ चोर्छिन् त कहीं नभएको ठाउँमा कसरी तिनले चोर्छिन् के छ त्यहाँ र चोर्छिन् ? जहाँ पौल छ त्यहाँ नै तिनले चोर्ने हो । त्यहाँ नै तिनले आँखा लगाउने हो । सही ढंगले दुख गरेर कमाउनेप्रति तिनी त्यति अक्रामक हुन्छन् र ? कथा त तिनको पनि त्यही नै हो । आफूसरह सामाजिक घातबाट थिचिएका घर परिवारमा तिनले आँखा लगाउलिन् र ?तिनले चोर्ने भनेको त्यस्तै ठाउँमा हो जहाँ चोर्नको लागि पौल छ, जहाँ असंगत ढंगले फलको थुप्रो लागेको छ, जहाँ चोरेरै वा डाका गरेरै वा चलाकी वा ठगीबाटै भकारी भरिएको छ । यसो हेर्दा तिनको यो सोंच निश्चयनै अस्वीकार्य छ । कसैको परिश्रमको फलमा डाका डाल्ने प्रशंग आउँछ भने त्यो निश्चय नै असामाजिक प्रतित हुन्छ । तर बाँच्न त तिनले पनि पाउन पर्ने हो । सबैको जस्तो खाने लाउने उमंग त तिनलाई पनि हुन पाउनु पर्ने हो । बर्षभरी तिनले मेहनत गरिन् । दुख झेलिन् । फल तिनले उव्जाइन् तर खाने अर्कै भयो । तिनलाई हुँदै भएन । आकाश सफा छ । चौरबाट हिलोले अवकाश पाएको छ । डाँडाकाँडा हरियो छ । रमाइलो छ । फलफूलका रुख फलले लटरम्म छन् । वेंसी र पाखाका खेतबारी बालीले झुली रहेछन् । पशहरु मोटाएका छन् । तर तिनका लागि भने केही कुनै हालतमा भएनन् । साहुमहाजन भुँडी पल्टाएरै यी सवका मज्जा लुटिरेछन् । उनका बच्चाहरुका खुशीका चिरचिराहटले वातावरण गुन्जयमान छन् । जाली फटाहा ठगहरु समेतले यही मज्जा लुटिरहेछन् । तर तिनलाई भने हुँदै भएन ।

माइलीको लागि यो रमणीय उमंगको स्थिति एउटा व्यंग्य बन्दछ । विद्रोह उक्साउने स्थिति बन्दछ । तिनी चोरेर वा बल प्रयोग गरेर भएपनि दशैंको रमणियतालाई हत्याउन चाहन्छिन् र भन्छिन् – चोरी ल्याउँला ।

तर हामीसंगै यसै हातमा यसै समाजमा बुढीऔंला पनि छ । जसले भन्छ – धत्तेरी फटाहा छुट्टै बसुँला ।

उमेरले पाको कदले कुप्रि एर होंचो शारीरिक हिसावले अशक्त अनुभवले खरो – बरु समाजबाट छुट्टै बस्न तिनी राजी छिन् अलग्गिन तयार छिन्, तर चोर्ने जस्तो कार्य गर्न तिनी तयार छैनन् । समाजलाई निरन्तरित गर्ने समाजिक मूल्यको यस बुढीऔंलाले प्रतिनिधित्व गर्दछ । घातप्रतिघात हुँदाहुँदै पनि समाज त्यही पनि सचेत प्राणीका समाज निरन्तरित हुनैपर्छ । कहीं कसैले त दायित्वको निर्वाह गर्नैपर्छ । नत्र समाज टुट्दैन र तिनी छुट्टै बस्ने धमास दिन्छिन् र बस्छिन् पनि र पनि तिनले आफ्नो दायित्व छोडेकी छैनन् । साहिँलीऔंला भरथेक गर्छिन् माइलीले विद्रोह गर्छिन् र पनि समाल्दै आउँछिन् बुढीऔंला । बुढीऔंला नै नहुने हो भने समाजको स्थिति के हुने होला केले कोदालो समाउने केले खाने केले नगद गन्ने केले हथियार चलाउने ?

आमै । बुढीआमै । तिमीबाटै समाज निरन्तरित छ । समाजमा ऐक्यबद्धता छ । धन्य हो । धन्य हो ।

दशैं आयो
खाउँला पिउँला
काहाँ पाउँला
चोरी ल्याउँला
धत्तेरी पापी छुट्टै बसुंला ‍‍‍‍‍…….!!!

261 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank