दाङमा किरीयापुत्रीले पनि हाले भाेट, घोराहीमा ७२.४४ प्रतिशत मत खस्यो

शनिबार, मंसिर १४, २०७६



दाङ । दाङ निर्वाचन क्षेत्र नं ३(ख)मा आज भएको प्रदेश सभाको उपनिर्वाचनमा ६५.३५ प्रतिशत मत खसेको छ । ६८ हजार ७ सय १९ मतदाता संख्या रहेको सो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको मुख्य निर्वाचन अधिकृत रेतेन्द्र थापाले जानकारी दिए ।

तीन गाउँपालिकासहित उपमहानगरको चारवटा वडा रहेको सो क्षेत्रमा ७७ वटा मतदान केन्द्र तोकिएको थियो । यसैबीच दाङ निर्वाचन क्षेत्र ३ (ख)मा ४ जना किरीयापुत्रीले पनि मतदान गरेका छन् ।

शान्तीनगर गाँउपालीका–२ जनकल्याण मावि सिमसुन्दरपुरबाट किरियापुत्री अमर विष्ट, खिमबहादुर विष्ट, दुर्गाबहादुर खड्का, केशरी खड्काले मतदान गरेको सहायक मतदान अधिकृत मदन बस्नेतले जानकारी दिए । उक्त मतदान स्थलमा ३ हजार १ सय १३ मतदाता रहेकोमा २ हजार ६२ मत खसेको थियो ।

यसैगरी घोराही उपमहागनरपालिका–१६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७२.४४ प्रतिशत मत खसेको छ । ४ हजार ४ सय ५३ मतमध्ये ३ हजार ३ सय २६ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको थियो । त्यहाँ ५ वटा मतदान केन्द्र तोकिएको थियो ।

मतदान सम्पन्न भएपछि अहिले मतपेटिका घोराहीमा रहेको जिल्ला समन्वय समितिको हलमा संकलन गर्ने कार्य जारी रहेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । दाङको सबैभन्दा विकट र टाढा मानिएको गंगटे र मलैखोलाबाट समेत मतपेटिका ल्याउनुपर्ने भएकाले प्रदेशसभा सदस्यको मतगणना आइतबार बिहानदेखि सुरु गरिने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

यसैगरी वडाको मतगणना भने शनिबारबाटै सुरु भएको छ । प्रदेश सभा सदस्य उत्तरकुमार वलीको गएको फागुन १० गते सवारी दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन भएको हो ।

सो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्वर्गीय उत्तरकुमार वलीकी पत्नी विमला वली र कांग्रेसले केशव आचार्यलाई उम्मेदवार बनाएको छ । दुई स्वतन्त्र सहित १४ जनाले प्रदेश सभामा उम्मेदवारी दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata