विप्लवका दुई कार्यकर्ता पक्राउ

आइतवार, मंसिर १, २०७६



दाङ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई  दाङबाट पक्राउ गरेको छ । दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगी शनिबार १ः१५ बजेतिर बबई–५ ट्वाङखोलाबाट पक्राउ परेका हुन् ।

ट्वाङखोलाबाट प्रदेश ३–०२००७प १२०४ नंको जिक्सर मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा बबई–५ निवासी ३२ वर्षीय डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए ।

उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान थालिएको छ । साथै उनी चढेको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

यस्तै दाङबाट विप्लव समूहका अर्का एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विप्लव समूहका सेक्सन अध्यक्ष शान्तिनगर गाउँपालिका–१ पटेरीखोला निवासी ३० वर्षीय प्रकाश बुढामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनलाई एक्लै हिँडिरहेको अवस्थामा शुक्रबार बेलुका ६ बजेतिर नियन्त्रणमा लिएको शाहले बताए । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुर राखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata