दाङमा अन्य पसलहरू पनि आलोपालो खुल्ने निर्णय 

बुधबार, जेष्ठ १४, २०७७

- शरद रेग्मी



दाङ । लगातार दुई महिना देखिको लकडाउनका कारण बन्द भएका तुलसीपुर क्षेत्रका अन्य केही पसलहरू पनि खुल्ने भएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको बुधवार बसेको बैठकले सातामा दुई दिन फेन्सी, कस्मेटिक, प्लास्टिक तथा भाडा पसल, जुत्ता चप्पल पसल तथा कपडा पसल समेत खोल्ने निर्णय गरेको छ । हरेक साता आइतबार र बिहीबार यी पसलहरू खुल्ने छन् ।

अन्य पसलहरू खुल्ने दिन दैनिक उपभोग्य सामाग्री खाद्यान्न र किराना पसल भने बन्द रहने पनि उद्योग वाणिज्यसंघले निर्णय गरेको हो । सङ्घका अध्यक्ष वीर बहादुर रावत(विरु)को अध्यक्षतामा बसेको बैठकले हार्डवेयर पसल खोल्ने सम्बन्धमा भने यस अघिकै निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो । हार्डवेयर व्यवसायीहरूले पसल नखोलेरै गोदामबाट आवश्यक निर्माण सामाग्रीहरू यस अघि जिल्ला प्रशासन कार्यालयले तोकेको दिन र समयमा बिक्री वितरण गर्न सक्ने छन् ।

लामो समयसम्मको लकडाउनका कारण अन्य व्यवसायीहरू समेत आर्थिक मारमा परेको व्यापक गुनासो पछि उद्योग वाणिज्यसंघले स्थानीय पालिका, स्थानीय इलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसँगको समेत समन्वयमा अन्य पसलहरू पनि खोल्ने निर्णय गरेको हो । यसका लागि उद्योग वाणिज्य महासङ्घसँग समेत परामर्श लिइएको सङ्घले जनाएको छ ।

लकडाउनलाई पालना गर्दै सामाजिक दुरी कायम राखी तोकिएको वारमा पसलहरू आलोपालो खोल्ने निर्णय भएको हो’—बैठकपछि सङ्घका अध्यक्ष वीर बहादुर रावतले भने । व्यवसायीहरूले ग्राहकहरूसँग कारोबार गर्दा अनिवार्य रूपमा सामाजिक दुरी कायम गर्नुपर्ने पनि उद्योग वाणिज्य सङ्घले जनाएको छ । ‘सामाजिक दुरी कायम गरे नगरेको सन्दर्भमा उद्योग वाणिज्य सङ्घले नियमित अनुगमन गर्ने छ, यसका लागी सचेत हुन आम उद्योगी व्यवसायीहरुलार्इ हार्दिकतापूर्वक अनुरोध गर्दछौ’—बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसै गरी दाङ उद्योग वाणिज्यसंंघले पनि स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग दैनिक अत्यावश्यक उपभोग्य सामाग्रीहरूका पसलहरू बाहेक अन्य पसलहरू समेत आलोपालो सञ्चालन गर्ने सन्दर्भमा छलफल सुरु गरेको दाङ उद्योग वाणिज्यसंघका अध्यक्ष नारायण भुसालले बताएका छन् । लमही उद्योग वाणिज्य सङ्घले पनि जिल्ला उद्योग वाणिज्यसंघ, तुलसीपुर उद्योग वाणिज्यसंघ सँगको सहकार्य र स्थानीय पालिका र प्रशासनसँगको समन्वयमा आइतबार र बिहीबार अन्य पसलहरू समेत सञ्चालन गर्ने तयारी गरेको सङ्घका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताएका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले यो विषयमा तीन वटै उद्योग वाणिज्यसंघहरुसँग समन्वय भइरहेको बताउँदै बुधवार साँझ सम्म निर्णय लिइने बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments