दाङमा सवारी पास बन्द

आइतवार, बैशाख २१, २०७७



दाङ । रुपन्देही र बाँकेमा कोरोना संक्रमित देखिएपछि दाङले विशेष सतर्कता अपनाएको छ ।

राजमार्ग भएर आउने व्यक्ति र सवारीसाधनलाई कडाइ गर्ने र सवारी पास रोक्ने रणनीति अख्तियार गरेको दाङ प्रशासनले कोरोना संक्रमण रोक्न जिल्ला प्रवेशमा कडाइ गरेको हो ।

‘‘यो प्रयासमा सबै नागरिकको साथ चाहिन्छ,’’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘‘सबै स्थानको डाटा लिएर अपडेट हुने काममा हामी लागि रहेका छौँ ।’’

शनिबार पनि कार्यालयमै बसेर मानिसहरु आउजाउको अवस्थाको तथ्याङ्क विश्लेषण गरिरहेको र कहीँ कतै शंका मात्र लागे पनि तत्काल ‘एक्सनमा’ उत्रने अवस्थामा आफूहरु रहेको उनले जानकारी दिए । ‘‘बाहिर जिल्लाबाट यता आउँदै गरेका केही भारतीय नागरिकलाई भैरहवातर्फ पठाइदिएका छौँ,’’ रिजालले भने ।

उनले सवारी पास पनि करिब-करिब रोकेको जानकारी दिए । ‘‘कसैको मृत्यु नै भइहालेको अवस्थाजस्ता अत्यावश्यकबाहेक पास नदिने निर्णय लिएका छौँ,’’ उनले भने, ‘‘यसमा सबैले साथ दिनुपर्छ ।’’ उता प्रदेश ५ का रुपन्देही र बाँकेमा कोरोना संक्रमित व्यक्ति भेटिएपछि ती दुवै जिल्लाका संक्रमित भेटिएका गाउँहरुलाई सिल गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments