मन्दिर पसे मार्ने धम्की आएपछि दलित त्रासमा

शनिबार, भदौ २३, २०७५



काठमाडौं  । बाराको सिम्रौनगढ नगरपालिका-७ झवानी टोलको शिव-पार्वती मन्दिरमा शुक्रबार बिहान दलित र गैर दलितले एकै साथ पूजापाठ गर्ने तयारी थियो। तर दलितहरु घरबाटै ननिस्किएपछि एकसाथ पूजापाठ गर्ने कार्यक्रम हुन सकेन।

सार्वजनिक जग्गामा चार दशकअघि निर्माण गरेको मन्दिरमा दलितलाई प्रवेश र पूजापाठ गर्न नदिएपछि सोमबार दलित र विभिन्न संगठनले विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनपछि बुधबार नगरपालिकाका मेयर विजयशंकर यादवको पहलमा गाउँमा सर्वपक्षीय बैठक बस्यो। बैठकले दलितमाथि भइरहेको छुवाछुतको विभेद अन्त्य गर्न भन्दै शुक्रबार एकसाथ पूजापाठ गर्ने कार्यक्रम राखेको हो।

बैठकले वडा अध्यक्ष रमेश कुशवाहाको संयोजकत्वमा नौ सदस्य मन्दिर सञ्चालन समिति पनि गठन गर्यो। समितिमा दलित समुदायका चार र गैर दलित समुदायका पाँच सदस्य राखियो।

बुधबारको सर्वदलीय बैठकको सहमति अनुसार शुक्रबार पूजापाठको समय तोकिएके भए पनि दलितहरु पूजापाठको कार्यक्रममा सहभागी नभएका हुन्।

‘मन्दिरमा पसे गोली हानेर मार्ने नै धम्की आएपछि घरबाट कसरी निस्कनु ?’, दलितवस्तीका रामबाबुराम चमारले प्रश्न गर्दै भने, ‘हामीलाई मन्दिरको पूजापाठ भन्दा आफ्नो र छोराछोरीको ज्यान नै प्यारो छ, मन्दिरमा छिरेर पूजापाठ गर्दा ज्यान नै रहदैन भने किन जानु ?’ सर्वदलीय सहमति विपरित गैर दलितले दलितमाथि मार्ने धम्की दिएकोप्रति नेपाल मानवअधिकार संगठन बाराका सचिव राजनारायणले आपत्ति जनाएका छन्। अन्नपूर्णपोष्टबाट

130 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank