संवेदनशील नहुँदा डढेलोले वन क्षेत्र उजाडिँदै

शनिबार, चैत्र २४, २०७४



बर्दिवास । डढेलो लगाउने र काँचा लाथ्रा (भरखरका कलिला रुख) काटिने क्रम बढेपछि महोत्तरी जिल्लाको वन क्षेत्र उजाड हुँदै छ । पूर्व–पश्चिम राजमार्ग वारिपारीको जिल्लाको वन क्षेत्रमा डढेलो लगाउने र लाथ्रा काट्ने क्रम ह्वात्तै बढेपछि वन क्षेत्र उजाड हुने क्रम बढेको हो ।

जिल्लाको बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा सधैंँजसो देखिने डढेलोले वन क्षेत्रका रुख, बुट्टा खरानीमा परिणत भएका छन् । डढेलोसँगै साखु र अन्य संरक्षित जातिका कलिला लाथ्रा काट्ने क्रम नरोकिएपछि वन क्षेत्र उजाड बन्दै गएको वन क्षेत्र नजिकका बासिन्दाको भनाइ छ । दिनदिनै वनमा लगाइने डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न पनि नसकिएको गौशाला–८ बेलगाछी ढल्केवरकी मञ्जु विश्वकर्माले बताए ।

फागुन शुरु भएसँगै बढेको डढेलो लगाउने क्रम नियन्त्रण हुन नसक्दा र वन क्षेत्रमा सुरक्षा गस्ती हिँड्न छाडेपछि लाथ्रा काटिने क्रम ह्वात्तै बढेको स्थानीयवासीको भनाइ छ । वन रक्षक सेवाको काम नभएर जागिर भएको बुझ्ने प्रवृति र वन कार्यालयको उदासिनताले वन उजाड हुँदैगएको वन क्षेत्रसँगै जोडिएको गौशाला नगरपालिकाकै लक्ष्मीनियाका लक्ष्मीप्रसाद महतो बताउछन् । वन कर्मचारीको कामप्रतिको उदासिनताले वन सखाप भइरहेको महतोको आरोप छ ।

फागुन लागेसँगै वनमा डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेका यस क्षेत्रका बुढापाकाको ठम्याइ छ । त्यसैगरी स–साना काँचा लाथ्रा काट्न सामान्य घरेलु हतियार (खुकुरी, खुर्पा, बञ्चरो) भए हुने, यस्ता लाथ्रा काट्न धेरै समय नलाग्ने र चाँडै सुक्ने भएकाले वन पसेका सर्वसाधारणले स–साना बुट्यान काट्ने गरेका लक्ष्मीनियाँकै बटुवा बस्तीका रामनरेश महतो बताउछन् । ठूला रुख तस्करकोे र स–साना बुट्यान वन क्षेत्र वरिपरीका बासिन्दाको चपेटामापर्नु र डढेलो नियन्त्रण नहुनुले अब जिल्लाको वन क्षेत्र मासिने खतरा बढेको बर्दिवास–११ खयरमाराका बासिन्दा तथा खयरमाराकै लक्ष्मीनारायण माध्यमिक बिद्यालयका शिक्षक बिपी श्रेष्ठले चिन्ता व्यक्त गरे ।

जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको छ । तर, पछिल्ला केही वर्षयता सुरक्षा तरलताले वन क्षेत्र रुखबिहीन बन्दै गएका वन तथा वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव बताउछन् ।

यता वन क्षेत्रको सुरक्षा र व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको जिल्ला वन कार्यालयले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबैक्षेत्रमा सघन गस्ती गराउन नसकिएको स्वीकार गरेको छ । वन क्षेत्रको सुरक्षा र प्रवद्र्धनको कार्य वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोगबाट सम्भव हुने भएकाले डढेलो नियन्त्रण र लाथ्रा काट्ने क्रम निरुत्साहित गर्न सकिने इलाका वन कार्यालय बर्दिवासका सहायक वन अधिकृत चन्देश्वर यादव बताउछन् ।

यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाइएको जानकारी दिनुभयो । कुनै पनि निहुँमा वन क्षेत्र सखाप पार्ने कामले छुट नपाउने जिल्ला प्रशासनले जनाएको छ ।

89 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank