सिवाइसी फराकिलो अन्तरले विजयी

आइतवार, चैत्र १८, २०७४



धनगढी । रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ अन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरियाले ९ विकेटको फराकिलो जित हात पारेको छ । रुपेन्देही च्यालेन्जर्सले दिएको ६२ रनको सामान्य लक्ष्य सिवाईसी अत्तरियाले ७.३ ओभरमा १ विकेट गुमाइ भेटाएको थियो ।

अत्तरियाका गौरव चितकाराले नटआउट ३० रनको पारी खेले। आठौं ओभरको तेस्रो बलमा उनले छक्का प्रहार गर्दै अत्तरियाका लागि विजयी रन बटुलेका थिए । अत्तरियाका सुवास खकुरेलले १९ तथा प्रेम तामाङले १४ रनको पारी खेले। रुपेन्देहीका जितेन्द्र मुखियाले १ विकेट लिए ।
त्यसअघि रुपेन्देही च्यालेन्जर्सका विदेशी खेलाडी सुफ्यान मेहमुदबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न नसक्दा रुपेन्देही १५.२ ओभरमा सवै विकेट गुमाएर ६१ रन बनाएको थियो ।

सुफ्यान २० रनमा नटआउट रहेका थिए। २५ बलको सामना गरेका उनले १ चौका र १ छक्का प्रहार गरे। कुनैपनि ब्याट्सम्यान धेरैबेर क्रिजमा टिक्न सकेका थिएनन् । ओपनरद्धय प्रदीप ऐरी र सागर पुन शुन्य रनमै पवेलयन फर्किएका थिए । यस्तै विक्रम भुषाल र शक्ति गौचन समान ८, दीपक प्रसाद ५, सिद्धान्त लोहनी ५ तथा अमरसिंह रौटेला १ रनमै पवेलियन फर्किए ।

सिवाइसी अत्तरियाका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। ४ ओभरको स्पेलमा ऐरीले १५ रन खर्चे । यस्तै शुभांकर उरावले ३ विकेट लिए भने कृष्ण कार्की र विपिन चन्द्रले १ विकेट लिए । केहीबेरमा सुरु हुने दोस्रो खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्स र विनोद भण्डारीको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेड भिड्नेछन् ।

210 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank