चेन्नई शीर्ष स्थानमा उक्लियो

बिहिबार, बैशाख १९, २०७६



एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को ५० औं खेल अन्तर्गत बुधबार सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै शीर्ष दुईमा रहेर क्यालिफायर खेल्ने चेन्नईको संभावना बलियो भएको छ ।

यो जितसँगै शीर्ष दुईमा रहेर क्यालिफायर खेल्ने चेन्नईको संभावना बलियो भएको छ । रविन्द्र जडेजा र इमरान ताहिरले घातक बलिङ गरेपछि  दिल्ली क्यापिटल्स ८० रनले पराजित हुँदै अंक तालिकाको दोस्रो स्थानमा झरेको  छ ।

१ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्ली १६.२ ओभरमा अल आउट हुँदै ९९ रनमा समेटियो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४४ रन बनाए । चेन्नईको घातक बलिङ सामु दिल्लीका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।

१२ ओभरको अन्तिम बलमा ऐरलाई रविन्द्र जडेजाले विकेटकीपर महेन्द्रसिंह धोनीबाट स्टम्पिङ आउट गराए । ऐरले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । शिखर धवन १९, अक्षर पटेल ९, ऋषभ पन्त ५, पृथ्वी शाह ४ रनमा आउट भए ।

पहिलो ओभरको पाँचौ बलमा नै दिपक चाहरले पृथ्वी शालाई सुरेश रैनाबाट क्याच आउट गराए । छैटौं ओभरको तेस्रो बलमा हरभजन सिंहले धवनलाई बोल्ड आउट गरे । लगत्तै सातौ ओभरको दोस्रो बलमा विकेटकीपर ऋषभ पन्तलाई ताहिरले नै ड्वेन ब्राभोबाट क्याच आउट गराएपछि दिल्लीको विकेट निरन्तर गुम्न पुगेको थियो । कोलिन इनग्राम १, शेरफेन रदरफोर्ड २, क्रिस मोरिस सुन्य रनमा आउट भए । जगदीश सुचित ६, अमित मिश्रा ८ रनमा आउट भए ।

चेन्नईलाई सहज जित दिलाउन इमरान ताहिरले ३.२ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले ३ ओभमा ९ रन खर्चिदै ३, हरभजन सिंह, दिपक चाहरले १ विकेट लिए ।

त्यस अघि घरेलु मैदान एमए चिन्दरम स्टेडियमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो ।

चेन्नईका लागि सुरेश रैनाले अर्धशतक प्रहार गरे । १५ ओभरको पाँचौ बलमा जगदीश सुचितले शिखर धवनबाट क्याच आउट गराउनु अघि रैनाले ३७ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रनको योगदान दिए । चेन्नईलाई बलियो योगफल सम्म पुर्याउन कप्तान महेन्द्र सिंह धोनी उत्कृष्ट ब्याटिङ गरे । धोनीले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनमा अविजित रहे ।

अन्तिम ओभरमा धोनीले ट्रेन्ट बोल्टलाई २ छक्का र १ चौका प्रहार गर्दै कुल २१ रन बटुलेका थिए । ओपनर फाफ डु प्लेसिसले ४१ बलमा २ चौका र छक्का प्रहार गर्दै ३९ रन जोडे । अर्का ओपनर शेन वाटशन शून्यमा पेभिलिएन फर्किए । त्यस्तै रविन्द्र जडेजाले १० बलमा समान २ चौका र छक्का सहित आक्रमक रुपमा २५ रन जोडे । आम्बाती रायडु ५ रनमा अविजित रहे ।

दिल्लीका लागि जगदीश सुचितले २,क्रिस मोरिस र अक्षर पटेलको नाममा समान १ विकेट रह्यो । यस खेलमा सन्दीप लामिछाने अन्तिम समयमा बेन्चमा बसेका थिए । टसको समयमा दिल्लीका कप्तान श्रेयसले सन्दीप सुरुवाती रोजाइमा रहेको भनेपनि अन्तिम समयमा टोलीमा परिवर्तन गरेको थियो ।

चेन्नई १३ खेलमा ९ मा जित र ४ मा हारका साथ १८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली १३ खेलमा ५ मा हार र ८ मा जितका साझ १ स्थान तल झर्दै दोस्रो स्थानमा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank