डिपिएलः महेन्द्रनगरको पहिलो जितपछि प्लेफको सम्भावना कायमै, अत्तरीयाको पहिलो हार

आइतवार, फाल्गुन ५, २०७५

- पदम राज भट्ट



धनगढी । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा महेन्द्रनगर युनाईटेडले पहिलो जित दर्ता गरेको छ । सिवाईसी अत्तरियालाई पहिलो हार चखाउँदै महेन्द्रनगर युनाइटेडले पहिलो जित दर्ता गरेको हो । दुई खेलमा हार व्यहोरको महेन्द्रनगरले दुई खेलमा भने बर्षाका कारण खेल नभएपछि अंक बाँडेको थियो । आफ्नो अन्तिम खेलमा अत्तरीयालाई ७ विकेटले हराउँदै आफ्नो प्लेअफको सम्भावना कायमै राखेको हो । महेन्द्रनगरको कुल ४ अंक पुगेको छ ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै ६ ओभरमा ५ विकेट गुमाएर ५४ रन जोड्यो । बर्षाले भिजेको मैदानको कारण ढिला सुरु हुँदा ६ ओभरमा घटाईएको खेलमा अत्तरियाका लागि सन्नी पटेलले सर्वाधिक १९ रन जोडे । यस्तै जय किशन कोल्सावाला र कप्तान दिपेन्द्र सिंह ऐरीले समान १०/१० रन बनाए । भुवन कार्की र रित गौतम समान ४/४ रनमा अविजित रहे । महेन्द्रनगरका अविनाश बोहोरा र सागर ढकालले २/२ विकेट लिए । कप्तान शरद भेषवाकरको नाममा एक विकेट रह्यो ।

५५ रनको विजय लक्ष्य पछ्याएको महेन्द्रनगरले निर्धारित ६ ओभरको खेल सकिन २ बल अघि नै विजय लक्ष्य भेट्टायो । महेन्द्रनगरको तर्फबाट आनन्द सुब्रमनियन १७, कप्तान शरद भेषावकर ५ र मोहम्मद नाभेद ६ रनमा आउट भए । आरिफ शेख १५ र कुशल मल्ल ६ रनमा अविजित रहे । अत्तरियाका भुवन कार्कीले २ तथा दिपेन्द्र रावतले १ विकेट लिए ।

फाप्ला मैदान गत बिहीबार अपरान्हदेखि परेको पानीले भिजेको थियो। जसले गर्दा शनिबारका दुवै खेल रद्द भएको थियो। शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीच तथा धनगढी स्टार्स र महेन्द्रनगरबीचको खेल रद्द भएको थियो। खेल रद्द भएसँगै यी चारै टोलीलाई १/१ अंक दिइएको थियो। खेल नभएर अंक बाँड्दा दुई पटकको च्याम्पियन धनगढी प्रतियोगिताको लिग चरणबाटै बाहिरिएयो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata