क्रिकेट खेलाडीको दुई वर्ष देखि राेकिएको तलव निकासा

शनिबार, माघ २६, २०७५



काठमाडौं । नेपाली क्रिकेट खेलाडीको विगत दुई वर्ष देखि रोकिएको मासिक तलव निकासा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको २ वर्षदेखि रोकिएको तलब सुविधा एकमुष्ट निकासा गरेको हो ।

खेलाडीको तलव वापतको रकम आईसीसीले राष्ट्रिय खेलकुद परिषद (राखेप) को खातामा १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ जम्मा गरेको जनाइएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशर कुमार विष्टकाे विशेष पहलमा रकम निकासा भएको हो ।  हालै युएईमा सम्पन्न एक दिवसीय र टी २० क्रिकेट जितेर आएको नेपाली क्रिकेट टोलीले पारिश्रमिक नपाएको गुनासो गरेपछि खेलाडीको रोकिएको तलव निकासा गर्न प्रक्रिया अघि बढाइएकाे थियाे ।

२१ जना क्रिकेटरलाई ३ तहमा विभाजन गरिएको थियो। श्रेणी ‘क’ मा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी छन्। उनीहरुले मासिक ३५ हजार रुपैयाँ तलब पाउँनेछन्। उनीहरुका लागि २ वर्षको ५८ लाख ८० हजार रुपैयाँ आईसीसीले निकासा गरेको छ।

श्रेणी ‘ख’मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन्। उनीहरुले मासिक २५ हजार रुपैयाँ पाउनेछन्। यस श्रेणीका खेलाडीका लागि आईसीसीले २ वर्षको तलवस्वरुप ४२ लाख रुपैयाँ निकासा गरेको छ।

श्रेणी ‘ग’ मा सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनील धमला, शुसान भारी, किशोर महतो र विनोद भण्डारी छन्। उनीहरुको मासिक १५ हजार तलब अन्तर्गत २ वर्षको २५ लाख २० हजार रुपैयाँ निकासा भएको छ। खेलाडीहरुको तलब निकासा भएकाले अबको एक दुई दिनमा वितरण गरिने पनि राखेपका प्रेस सल्लाहकार दाहालले बताए ।

standard

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata