७२ दिनअघि रोकिएको नेकपाको स्थायी समिति बैठक अझै अनिश्चित

शुक्रबार, भदौ २९, २०७५



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २१ असारको स्थायी समिति बैठकको एउटा एजेण्डा थियो–सरकारको कामको समीक्षा । सो बैठकमा समीक्षा पनि सुरु भयो । तर, अध्यक्ष एवं प्रधानमन्त्रीले सोचे अनुसारको समीक्षा स्थायी समिति सदस्यहरूले गरेनन् । सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना सुरु गर्न थालेपछि अर्को बैठकमा समीक्षा गर्ने भन्दै बैठक रोकियो । बैठक रोकिएको शुक्रबार ७२ दिन भएको छ । तर, स्थायी समितिको रोकिएको बैठक कहिले बस्छ भन्ने टुंगो छैन् ।

बीचमा भदौ ८ र ९ गतेका लागि बोलाइएको बैठक गृहकार्य पुरा नभएको कारण देखाउँदै स्थगित गरिएको थियो । बैठक भदौ १८ र १९ गते फेरि बोलाइयो । त्यो बैठक पनि स्थगित भयो । अब अर्को बैठक कहिले बस्छ भन्ने ठेगान छैन् । तल्ला कमिटीमा रहने सदस्य र नेतृत्वको सिफारिस विवादमा परेपछि स्थायी समिति बैठक बस्न नसकेको हो । मापदण्ड विपरित आफु निकटका लागि सिफारिस गरिएको भन्दै माधव नेपाल पक्षले विरोध जनाउँदै आएको छ । सो विषयमा गत बुधबार र बिहीबार बसेको सचिवालय बैठकमा समेत छलफल भएको छ ।

सचिवालय बैठकले एकीकरणका बिषयमा ठोस निष्कर्ष निकाल्न नसकेपछि एकीकरणको नयाँ मापदण्ड बनाएर सचिवालय बैठकमा पेस गर्ने गरि दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिएको छ । मापदण्ड तयार भएपछि सचिवालय बैठक बस्ने र सो बैठकले स्थायी समिति बैठकको मिति तय गर्ने नेकपाले जनाएको छ । ६ वटा प्रदेशले सचिवालयलाई प्रतिवेदन बुझाइ सकेको छ । प्रदेश २ ले भने प्रतिवेदन बुझाएको छैन । प्रदेश ५ गते सिफारिस गरेको नाममा मुख्यगरी विवाद छ । अन्य प्रदेशका प्रतिवेदन पनि विवाद मुक्त छैनन् । नेतृत्व कसले लिने भन्ने विवाद बढे पछि विद्यार्थी, युवा, महिला र मजदुर संगठनले एकीकरणको प्रतिवेदन बुझाउन सकेका छैनन् ।

सचिवालयको बैठक फाट्टफुट्ट बसेपनि नेकपाले सरकारको कामको समीक्षा औपचारिक रुपमा गरेको छैन् । स्थायी समिति बैठक बस्न ढिलाइ भएपछि कतिपय नेताहरूले आफ्ना धारणा सामाजिक सञ्जालबाट राख्न थालेका छन् । नेताहरूबीचको अनौपचारिक भेटघाटको क्रममा बैठक नबोलाइएकोमा असन्तुष्टि पोखिन थालेको छ । स्थायी समिति समेत राख्न नसकेको अवस्थामा केन्द्रीय समिति बैठक कहिले बस्ला भन्ने प्रश्न केन्द्रीय सदस्यहरूले नै गर्न थालेका छन् ।

1477 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank